पाेखरा ।।
गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।
याे खाेप यस प्रदेशकाे १ लाख १८ हजार ७ सय ७४ जना किशोरीलाई लगाइने भएको छ ।
याे एचपिभी खोप अभियान अन्तर्गत गण्डकी प्रदेशका ११ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई लगाइने भएको हाे ।
खाेप अभियान आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने भएको छ ।
यस खोप अभियान सञ्चालनका लागि अहिले जिल्ला र स्थानीय तहमा पूर्वतयारी स्वरुप काम भइहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिएका छन् ।
उनका अनुसार विशेषगरी अहिले खोप प्रदान गर्ने स्वाथ्यकर्मी र अन्य सरोकारवालाका पक्षलाई सबल अभिमुखीकरण कार्यक्रम सञ्चालन भइहेको बताएका छन् ।
संघ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एचपिभी’ खोपलाई राष्ट्रिय खोप तालिकामा सामवेश गर्ने नीति बनाएकाे थियाे ।
यही तालिका अनुरुप सरकारले यो खोपलाई नियमित खोप सेवाको रुपमा प्रदान गर्ने नीति लिए बमोजिम कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई लक्षित गरी खोप प्रदान गर्न लागिएको हो ।
भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरुलाई सुरक्षित गर्ने लक्ष्यसहित देशव्यापी रुपमा ‘एचपिभी’ खोप अभियान सञ्चालन हुन लागेको महानिर्देशक खड्काले बताएका छन् ।