जेष्ठ २३ काठमाडौँ।।
टिकटकमा ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापा मगरले आफ्नी पत्नी ईश्वरी भुजेलको हत्या गरेका छन्। जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार स्कुटीमा सवार ईश्वरीमाथि रड प्रहार गरी गम्भीर घाइते बनाइएको थियो, जसका कारण उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटना शुक्रबार बेलुकी काठमाडौंको तारकेश्वर नगरपालिका–स्थित लोलाङ, पैँयुटारमा भएको हो। प्रहरीका अनुसार राति करिब १०ः१० बजे कामबाट घर फर्किंदै गरेकी ईश्वरीलाई कुमारले बाटो ढुकेर बसेका थिए। घर नजिकै पुगेपछि उनले अचानक रडले टाउकोमा प्रहार गरेका थिए।
घटनापछि गम्भीर घाइते भएकी ईश्वरीलाई स्थानीयले तत्काल तारकेश्वरस्थित अस्पताल पुर्याएका थिए। अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। तर, इमर्जेन्सी वार्डमा उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका हुन्।
प्रहरीका अनुसार अभियुक्त कुमार आफूलाई रेस्लर तथा फाइटरको रूपमा चिनाउँदै आएका थिए भने मृतक ईश्वरी नेपाली सेनामा कार्यरत थिइन्। दुवैबीच केही समयदेखि सम्बन्धमा तनाव रहेको र सम्बन्ध बिच्छेदको प्रक्रियामा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि कुमारलाई शुक्रबार राति बालाजु क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनी जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।









