पाेखरा ।।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन पाेखरा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।
उनले ऋषिमुनीले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’को आधुनिक रुप ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको पनि बताए ।
विशेषगरी व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी एमएस उत्तिर्ण भएकोलाई जनताको अवस्था परिवर्तन भएको दृष्टान्तका रुपमा प्रस्तुत गरेका छन् ।
प्रतिष्ठानको स्थापना हुनु र पोखरामा नै रहेर जनशक्ति उत्पादन हुनु पनि एउटा अनुकरणीय काम भएकाे स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको पनि जनाए ।
उनले हामी उठ्न नसक्ने कुनै कारण नभएकोले हामीले सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्ने बताए ।
चीनले आफ्नाे देशमा रहेकाे ठूलो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनिबाट उठाएकाे बताउँदै हामीले पनि हाम्रो देश आफै बनाउन लाग्नुपर्ने र लागेपछि नेपाल बन्ने पनि बताए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलो दीक्षान्त समारोहमा ३८ जना दीक्षित भएका छन् । उनीहरुलाई कुलपती तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित गराएका थिए ।
त्यस्तै साेही अवसरमा प्रतिष्ठानका उपकुलपती डुकबहादुर क्षेत्रीले ५० शैयाको आकस्मिक विभाग सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराएका छन् ।