रुपन्देही ।।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएकाे छ ।
न्यायाधीश पल्हाद कुमार योगीको इजलासमा रुपन्देही जिल्ला अदालतमा (हिजाे)बुधबार उनकाे बयान सकिएकाे हाे ।
उनकाे बयान सकिएपनि थुनछेक बहस भने (आज) विहिबार मात्र हुने भएको छ ।
थुनछेक बहसमा जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सहायक न्यायधिवक्ताहरु गोकर्णराज घिमिरे, वसन्त पोख्रेल, लगायतले बहस गर्ने छन् ।
बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोप र सङ्गठित अपराधमा माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो ।
यसै मुद्दामा लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
प्रहरीले साे सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा गएको र २ करोड रुपैयाँ भने लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि उजुरी गरेकाे थियाे ।