पाेखरा ।।
नेपालकाे धेरै शहरहरु मध्ये पाेखरा एउटा सुन्दर शहर हाे । यहाँकाे मनमाेहक दृश्य, शान्त अनि अति सुन्दर वातावरणले जाे काेहीलाई मन्त्रमुग्ध बनाउँछ ।
यससँगै पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य पनि हो । यही विशेषताका कारण अघिल्लो वर्ष २०८० चैत ४ गते नेपालका तीनै तहका सरकार प्रमुखले हजारौ पोखरेलीलाई साक्षी राखेर पाेखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गरेकाे थियाे । तर यही पर्यटकीय राजधानी पोखरामा माघ २५ गतेदेखि फाेहाेर नउठ्दा दुर्गन्ध फैलिएको छ ।
पाेखराकाे अति व्यस्त बजारहरु सृजनाचाेक, नयाँबजार, न्यूराेड, चिप्लेढुङ्गा र महेन्द्रपुल लगायतका क्षेत्रको सडकमा फोहरका डुङ्गुर थुप्रिएका छन् । यसले पर्यटकीय राजधानी पाेखरामा दुर्गन्ध मात्र फैलिएको छैन्, सुन्दर शहरलाई कुरुप पनि बनाएकाे छ ।
पाेखरालाई सफा राख्न विगतमा समेत यहाँकाे फाेहाेर व्यवस्थापन गर्न चुनाैतिकाे विषय थियाे । यही चुनाैतिलाई पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नाे चुनावी एजेण्डा समेत बनाएका थिए । तर मेयर आचार्यले आफ्नाे चुनावी घाेषणा-पत्रमा भने जस्ताे सहज रुपमा फाेहाेर व्यवस्थापन भने गर्न सकेकाे छैन् ।
यति मात्र हाेइन उनले आधुनिक र बाहिरबाट आउनेले टिकट काटेर हेर्न मिल्ने फोहोर प्रशोधन केन्द्र बनाउने बताएका थिए । याे भनेकाे पनि झण्डै तीन वर्ष वित्न लागेको छ तर न त फोहोर प्रशोधन केन्द्र बन्याे न त ६ महिनाको लागि अस्थायी समाधान भन्दै बाच्छेबुडुवाबाट लामेआहालमा सारिएको ल्याण्डफिल साइटकाे सम्झाैता नै थप्न सक्याे ।
जसले गर्दा अहिले पाेखराका सडकहरु दुर्गन्धित भएका छन् । पोखरामा दैनिक १५० देखि २०० टन फोहोर उत्सर्जन हुन्छ ।
तर यता, मेयर भने आउँदो फागुन ३ गते एक समारोहका बिच २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित “पोखरा भ्रमण वर्ष २०२५” घोषणा गर्ने तयारीमा छन् ।
पर्यटनको राजधानी घोषणा भई सकेको पोखरामा भ्रमण वर्ष घोषणाले भन्दा यहाँको सरसफाइमा, साैन्दर्यकरण र सेवा सुविधामा जोड दिन सके पर्यटक संख्या वृद्धि हुनेछ ।