पोखरा – ३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति माध्यमिक बिद्यालयको ५२ औं बार्षिकोत्सब एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि ५२ औं बार्षिकोत्सब, अभिभावक दिवस एवं पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथी एवं पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कडेलले पछिल्लो समय सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न राज्यले बिशेष पहल गरिरहेको बताउदै स्थानिय सरकारको प्रतिनिधिको तर्फबाट आफूले पनि काम गरिरहेको बताए । उनले शैक्षिक गुणस्तर उकास्न अभिभावकको भुमिका पनि महत्वपुर्ण हुने भन्दै विद्यालय प्रति चासो बढाईदिन अभिभावक र सरोकारवाला पक्षलाई आग्रह गरे ।
पोखरा ३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयलाई बिश्वास गरेर अभिभावकले पनि आफ्ना बच्चाहरुलाई निजिमा भन्दा सामुदायिक विद्यालयमा पढाउन जोड गर्नुपर्ने बताए । कमि कमजोरी भए सुधार गर्न सबै लाग्ने हो भने निजीमा भन्दा पनि सामुदायिक विद्यालायमा गुणस्तरीय शिक्षा दिन सकिने उनको भनाई थियो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाभेन नेपालका प्रतिनिधि दाने मथर (Dane Mathr), भू.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा.बि. का अध्यक्ष बिकास प्रसाद कडेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य धुर्वराज अधिकारी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु रुद्रनाथ अधिकारी र केदारनाथ अधिकारी, शिक्षा समिती पोखरा ३१ का सदस्य धुर्वराज अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा प्रध्यानाध्यापक शिबराज अधिकारीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । कक्षा ११ र १२ का संयोजक शिक्षक सत्यराज कडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शिक्षक वसन्त पहारीले गरेका थिए ।