सराङकोट महायज्ञमा आजसम्म १ करोड १३ लाख संकलन
  • प्रमुख खबर

पोखरा ।।

सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्र्तगत पाँचौं दिन आज आइतबारसम्म कुल १ करोड १३ लाख बढी दान संकलन भएको छ । आज मात्रै २० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिए ।

 

आज सराङकोट जैसीथोक निवासी उमनाथ चपाई परिवारबाट रु.३ लाख २२ हजार २ सय २२, पोखरा १८ निवासी पूर्णप्रसाद तिमिल्सीनाको परिवारबाट पनि समान रु.३ लाख २२ हजार २ सय २२, पालिखेचोक निवासी विरेन्द्रमान् पालिखे परिवारबाट २ लाख ३३ हजार ३ सय ३३, जन्मदिनको अवसरमा महायज्ञका कोषाध्यक्ष शिव कोइराला परिवारबाट रु.७५ हजार, गोठादीका कर्णबहादुर थापा परिवारबाट रु.५० हजार १ सय एवम् अन्य दाताको समेत गरी रु.२० लाख बढी दान संकलन भएको कोषाध्यक्ष कोइरालाले बताए ।

 

महायज्ञ मध्यतिर आइरहदाँ भक्तजनको सहभागिता पनि बढ्दै गएकोे छ । सुरुमा झरीका कारण केही प्रभावित सो यज्ञमा मौसममा क्रमिक सुधार आएसँगै जनसहभागिता बढ्दै गएको हो ।आजसम्म करिव ६० हजार दर्शकले सहभागिता जनाएको प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए । अन्नपूर्ण केवलकार मार्फत आजसम्म १२ हजार, निःशुल्क बस सेवा मार्फत २० हजार तथा निजी सवारी साधन प्रयोग गरि त्यतीमा मात्रामा भक्तजन सराङकोट धाम पुगेको उहाँको भनाई छ । समग्र कास्की, यहाँका विभिन्न संघसंस्था, पर्वत तथा तनहुँबाट पनि स्वस्फूर्त रुपमा भक्तजनको सहभागिता बढ्दै गएको उनले सुनाए ।

 

त्यसका साथै दाताको सहभागिता तथा दान रकम पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । अझै दाताहरु आउने क्रम जारी छ , हामीले दाताको पहिचान पनि गरेका छौं मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले भने । पक्कै पनि सराङकोट महाउत्सव सफलताउन्मुख छ । त्यसका साथै सराङकोट पुग्ने विदेशी पर्यटक समेत यज्ञ स्थलमा रमाइरहेको देख्न सकिन्छ।
सराङकोट धामसँगै त्यहाँ जारी यज्ञको हिजो मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् । सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

 

सराङकोट टपमा सडकका अलवा पोखरा स्थित सेदीबाट अन्नपूर्ण केवलबार मार्फत पनि पुग्न सकिन्छ । यज्ञ अवधिभर प्रतिव्यक्ति रु.२ सयमा केबलकारबाट सराङकोट टप आउजाउ गर्ने व्यवस्था मिलाइएको छ । अन्य समयमा भने दुईतर्फी यात्राका लागि रु.७ सय ५० लिने गरिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्