पाेखरा ।।
पाेखरामा हुने कोटिहोमका लागि भएको भूमिपूजन कार्यमा पोखरा महानगर प्रहरी र आयोजकबीच भएको झडपकाे विषयलाई लिएर महानगरले विज्ञप्ति जारी गरेकाे छ ।
महानगरका प्रवक्ता माेतिलाल तिम्सिनाद्वारा जारी उक्त विज्ञप्तिमा,मानव सेवा फाउण्डेशनले पाेखरा महानगरकाे अनुमति बिना काेटीहाेमका लागि जबरजस्ती भूमिपूजन गर्न खोज्दा आज (शुक्रबार) असहज परिस्थिति सृजना जनाएको छ ।
उच्च अदालत पोखरामा विचाराधीन अवस्थामा रहेको कोटीहोमसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्न पोखरा महानगरपालिकाले अनुरोध गर्दै आइरहदाँ समेत
अटेर गरी कार्यक्रम अगाडि बढाउनु प्रचलित कानुन र स्थानीय सरकारको क्षेत्राधिकार माथिको उल्लघंन भएको विज्ञप्तिमा भनिएकाे छ ।
साे विज्ञप्तिमा आज विहान महानगरपालिकाका जनप्रतिनिधिहरु कार्यक्रम स्थलमा उपस्थित भई कार्यक्रम स्थगन गर्न अनुरोध गर्दा समेत अटेर गरि धर्मको आवरणमा गुण्डागर्दी शैलीमा रड, लाठी र हतियार सहित पोखरा बाहिरका मानिसहरू समेत जम्मा गरी साङ्घातिक आक्रमणमा उत्रनु निन्दनीय कार्य भएको भनिएकाे छ ।
फाउण्डेशनले सुरुवातबाटै धार्मिक सहिष्णुतालाई भड्काउने, धर्मका नाममा समाजलाई विभक्त तुल्याउने, सनातन आस्था प्रति घृणा फैलाउने, सदिऔँदेखि मिलेर शान्तिपूर्ण रूपमा बसिरहेको पोखराको एकता र शान्ति खलबल्याउने कुत्सित मनसाय साथ गरिएका हर्कतहरु कानुनतः दण्डनीय भएको पनि उल्लेख गरिएको छ ।
यस्तै विज्ञप्तिमा विवादास्पद छविका विजय भण्डारीको उक्साहटमा परिचालित समूहको आक्रमणमा परी ११ जना महानगर प्रहरीहरू र केही अन्य व्यक्तिहरू समेत घाइते भएकाे जनाइएको छ ।
उनीहरुकाे टाउको, अनुहार र शरीरका विभिन्न भागहरूमा गम्भीर चोट लागेकाे पनि विज्ञप्तिमा खुलाइएको छ । ती नगरप्रहरीहरुको मेट्रोसिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेकाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नियोजित रूपमा घटना घटाउन उद्धत व्यक्तिहरूको पहिचान गरी कानुन बमोजिम कडा कारबाही गर्न प्रशासन समक्ष विज्ञप्तिमार्फत अनुरोध पनि गरिएको छ ।
पोखरा क्षेत्रका ऐतिहासिक महत्वका चौतारीमा रहेका सयौँ वर्ष पुराना वरपीपलका रुखहरू मास्ने कार्यमा समेत संलग्न मानव सेवा फाउन्डेसनले अनुमति विना वैशाखबाट गर्ने भनीएको कोटिहोम यथास्थितिमा हुन नसक्ने कुरा महानगरपालिकाले स्पष्ट पनि पारेको छ ।
यस्तै जारी विज्ञप्तिमा, पोखरा महानगरपालिका सबै धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व र जिम्मेवारी प्रति पूर्ण प्रतिबद्ध भएको जनाउँदै महानगर क्षेत्रमा प्रचलित कानुन विपरीतका कुनैपनि कार्यहरू सञ्चालन नगर्न/नगराउन सम्बन्धित सबैमा आह्वान समेत गरेकाे छ ।