पाेखरा ।।
गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले स्वास्थ्य बिमा बोर्डको कार्यकारी प्रमुखमा नियुक्त भएका छन् ।
सोमबार बसेको बोर्डको मन्त्रिपरिषद् बैठकले तनहुँ व्यास नगरपालिका वडा नं ५ का डा. काफ्लेलाई प्रमुखमा नियुक्त गरेको हो ।
उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहभागितात्मक जिल्ला विकास कार्यक्रम तथा संयुक्त राष्ट्रसंघीय बालकोषको महिला तथा बालबालिकासम्बन्धी विकेन्द्रित कार्यक्रमलगायतका विकास साझेदारका परियोजनाहरूमा करिब १२ वर्ष काम गरेकाे अनुभव छ।
चार वर्ष वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख रहेर समेत काम गरेकाे अनुभव छ उनीसँग । त्यस अवधिमा उनले सुरक्षित, व्यवस्थित, र मर्यादित वैदेशिक रोजगारका लागि महत्वपूर्ण भूमिका निभाएर कार्य सम्पादन गरेका थिए ।
करिब १२ वर्ष विभिन्न क्याम्पसहरूमा स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई अर्थशास्त्र तथा अनुसन्धान विषय अध्यापन गराएका डा. काफ्ले लामो समयदेखि प्रदेश, संघ र अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य गर्दै नीति निर्माणमा संलग्न रहँदै आएका छन्।
नेपाल सरकारका नीति निर्माण प्रक्रियामा लामो समयदेखि संलग्न रहँदै आएका उनले सधैँ नीति निर्माण र निर्णय तहमा प्रभावकारी भूमिका निर्वाह गरेका छन्।