नेविसंघलाई हराउन स्वयम् कांग्रेस कास्कीका सभापति बराल सकृय
  • प्रमुख खबर

पाेखरा ।।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को हालै सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई हराउन स्वयं नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लागि पारेको भन्दै नेविसंघका केन्द्रिय सदस्यहरूले कारबाहीको माग गरेका छन् ।

उनीहरूले बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकरी दिएको हो । उक्त पत्रकार सम्मेलनमार्फत उनीहरूले सभापति बरालविरुद्ध केन्द्रीय अनुशासन समितिमा कारबाहीको लागि उजुरी दर्ता गरेको जानकारी दिएका छन् ।

विषेशगरी पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान(डब्लुआरसि)को निर्वाचनमा नेविसंघका केन्द्रिय समितिको तर्फबाट केन्द्रिय प्रतिनिधिका रूपमा केन्द्रिय सदस्यद्वय राजेन्द्र बराल र संस्कार कोइरालालाई खटाइएको थियो ।

नेविसंघ डब्लुआरसि ईकाइलाई केन्द्रिय समितिको तर्फबाट सम्पुर्ण अधिकार दिई उम्मेदवारी टुंग्याउनु भनी निर्देशन दिएको थियो।

उक्त निर्देशन अनुसार नेविसंघको तर्फबाट सचिवमा प्रशान्त उपाध्यायले उम्मेदवारी दिएको थियो भने नेविसंघको केन्द्रीय नेतृत्वले पनि उनलाई नै सचिवमा तोकेको थियो । तर सभापति बरालकै निर्देशनमा नेविसंघकै केन्द्रीय सदस्य रेजिना खड्कामार्फत उनको मनोनयनपत्र च्यात्न लगाइएको उनीहरुकाे आरोप छ । जसका कारण उपाध्यायको नाम अन्तिम सूचीमा समावेश भएन।

उम्मेदवारको नाम प्रकाशनको मागसहित नेविसंघले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए । तर पछि स्वयम सभापति पदका उम्मेदवार सौगात पण्डितकै नेतृत्वमा ताला फुटाइएको थियो ।

यी सबै गतिविधि सभापति बरालको निर्देशनमा नै भएको आराेप केन्द्रीय सदस्य राजेन्द्र बरालले लगाएका छन् ।

यस्तै नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले समेत सचिवको आधिकारिक उम्मेदवार प्रशान्त उपाध्याय हो भनि डब्लुआसीमा औपचारिक जानकारी गराइएको भएतापनि सभापति बरालले सचिव कायम नभएतापनि निर्वाचनमा सहभागी हुनु भनि नेपाल कम्प्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्र र क्याम्पस प्रशासनसँग संम्बाद गरी नेविसंघको अस्तित्व र समग्र संगठनलाई नै लिलाम गरेकाे उनीहरुकाे आराेप छ।

यस्तै केन्द्रीय सदस्य नसिव गुरुङले स्ववियु निर्वाचनका लागि उठाइएको चन्दा बरालले दुरुपयोग गरेको आरोप लगाएका छन्।

त्यस्तै अर्का केन्द्रीय सदस्य अन्जान थापाले पनि स्ववियु निर्वाचनको लागि उद्योगी व्यवसायी, शुभचिन्तक लगायत सबैबाट चन्दा सङ्कलन गर्ने तर निर्वाचनमा अभिभावकीय भूमिका निर्वाह नगरी आर्थिक अपचलन गर्दै नेविसंघको विरुद्ध मत मागेको आरोप सभापति बराललाई लगाएका छन् ।

त्यस्तै उनीहरुले सभापति बरालले नेविसंघका उम्मेदवारलाई मत माग्नुपर्ने ठाउँमा सामाजिक सञ्जालमार्फत खुलेअाम रुपमा स्वतन्त्र लगायत आफ्नाे इच्छाले मताधिकार प्रयाेग गर्न अपिल गरेकाेमा आपत्ति जनाउँदै याे नेपाली कांग्रेस विपरित भएको भन्दै तत्काल बराललाई नेपाली कांग्रेसकाे साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्न माग गरेकाे छ ।

उनीहरुले एतिहासिक लाेकतान्त्रिक पार्टी नेपाली कांग्रेस बिक्री गर्न तत्पर भएका बराललाई आजकाे मितिबाट अबकाे ७ दिनभित्रै कारबाही नगरे थप शसक्तका आन्दोलनका कार्यक्रमहरु गर्ने घाेषणा समेत गरेका छन् ।

स्ववियु निर्वाचन भएका पाेखराका ४ वटै क्याम्पसमा नेविसंघ पराजित भएको छ । लामाचौरकाे इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी हुदाँ पृथ्वीनारायण क्याम्पस, नर्सिङ क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।

अहिले नेवि संघले सभापति बराललाई कारबाही गर्नुपर्ने माग नै विशेषगरी उनका कारण पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरको निर्वाचनमा नेवि संघबाट सचिवको उम्मेदवार नहुनु यसकाे प्रमुख कारण रहेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्