काठ्माण्डाैं ।।
भारत र पाकिस्तानबीच पछिल्लो समय सृजना भएको द्वन्दकाे कारणले नेपालले सीमा सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ।
विशेषगरी सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपालले सीमामा सुरक्षा व्यवस्थालाई थप कडा बनाएको हाे ।
पछिल्ला ४८ घण्टाको अवधिमा ३ सय १२ वटा गस्ती (पट्रोल) र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
वैशाख २३ गते मंगलबार बिहानदेखि २५ गते बिहीबार बिहानसम्मको ४८ घण्टामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा ८४ वटा संयुक्त गस्ती तथा २ सय २८ वटा एकल गस्ती गरिएको हो।
यही अवधिमा सीमा क्षेत्रमा १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट स्थापना गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार देशका विभिन्न सीमा क्षेत्रमा क्रमशः नं. १ बराह बाहिनी सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं. ३ गढिमाई बाहिनी मकवानपुर, नं. ४ मुक्तिनाथ बाहिनी कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी कैलालीका मातहतबाट १० हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।