गण्डकी प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा प्राज्ञ नगेन सिंहकाे दरखास्त
  • प्रमुख खबर

पाेखरा ।।

गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्ति अहिले चर्चाकाे विषय बनेको छ।

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले प्रतिष्ठानकाे लागि कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ सभा सदस्य पदका लागि २०८२ साल बैशाख २७ गते दरखास्त आह्वान गरेको थियाे ।

उक्त दरखास्त आह्वानसंगै चर्चा र विवाद बनिरहेकाे रहेकाे प्रतिष्ठानकाे उपकुलपतिमा प्राज्ञ नगेन सिंह ठकुरीले पनि आवेदन दर्ता गरेका छन् । मन्त्रालयले राखेकाे प्रावधान अनुसार प्राज्ञ ठकुरीले आवेदन दर्ता गरेका हुन् ।

मन्त्रालयले ताेकेकाे मापदण्ड अनुसार प्रतिष्ठानकाे कुनैपनि पदाधिकारी पदका लागि भाषा, साहित्य, लोक साहित्य, ललितकला, नाट्यकला, संगीत वा संस्कृतिको क्षेत्रमा अध्ययन वा अनुसन्धान गरेर ख्याति कमाएको हुनुपर्ने भनेर ताेकिएकाे छ ।

साे मापदण्ड अनुरुप नै प्राज्ञ ठकुरीले उपकुलपतिकाे लागि अावेदन दिएकाे बताएका छन् ।

वि.सं. २०४८ सालबाट चित्रकलाकाे क्षेत्रमा पाइला टेकेका उनले राष्ट्रिय रंगमा त्रिकाेणात्मक चित्र बनाएर अाफ्नाे छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

प्राज्ञ ठकुरीले चित्रकलामा ललितकला क्याम्पस, भोटाहिटी, काठमाण्डौबाट २०६२मा स्नातक उत्तीर्ण गरेका छन् भने  ललितकला विभाग, त्रि.वि. र्कितिपुरबाट २०६९ मा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

उनका अनुसार मानिसको जीवनमा शिक्षाले धेरै महत्त्व राख्ने र  शिक्षा भनेको नयाँ कुरा सिक्ने र जीवन जिउने कलाको विकास गर्ने माध्यम भएको भन्दै उनले कला क्षेत्रकाे अध्ययन बाहेक अन्य विषयकाे अध्ययन पनि गरेका छन् ।

उनले आर.आर. क्याम्पसबाट पत्रकारीतामा प्रमाण-पत्र तहकाे अध्ययन, ल क्याम्पसबाट एल.एल.बी. काे अध्ययन, त्रि.वि.र्कितिपुरबाट संस्कृतिमा स्नातकोत्तरकाे अध्ययन  र त्रि–चन्द्र कलेजबाट समाजशास्त्रमा समेत स्नातोत्तरकाे अध्ययन गरेका छन् ।

वि.सं. २०८०मा राष्ट्रपतिबाट प्रबल जनसेवाश्री मानपदवीद्धारा विभूषित भएका ठकुरीले, २०६९ मा दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा(पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार), २०७४ मा अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष)बाट स्वर्ण पदक लगायत थुप्रै पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

यस्तै २०६५ मा यूथ राजदूत फर पिस, यूपिएफ, साउथ कोरीयाबाट पनि उनी सम्मानित भएका छन् । प्राज्ञ ठकुरी ३४ वर्षकाे उमेरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकाे प्राज्ञ सभासद (२०७१–२०७५) समेत भइसकेका छन् ।

उनले यस क्षेत्रकाे विकासका निम्ति मात्र याेग्दान नगरि देशमा लाेकतन्त्रकाे स्थापनार्थ वि.सं.२०६२/०६३ काे ऐतिहासिक जनआन्दोलनमा सहभागी भइ उनी पटक-पटक घाइते समेत भएका थिए ।

उनले कलाकाे क्षेत्रमा पुर्याएकाे याेग्दानकाे कदर गर्दै काठ्माण्डाैंकाे ठमेल स्थित म्यूजियम अफ नेपाली अार्ट (माेना म्यूजियम)मा त्रिविभुवन विश्वविद्यालयका प्राध्यापक प्राज्ञ तारा ओझाले उनकाे सालिक निर्माण गरि राखेका छन् ।

प्राज्ञ ठकुरी एक त्यस्ता कलाकार हुन् जसले राजधानीकाे अनगिन्ती अवसरहरुलाई तिलान्जलि दिएर मोफसलमा नै बसेर वार्षिक रूपमा राष्ट्रिय कला प्रदर्शनीहरु गर्दै आइरहेका छन् ।

उनी नेपालकाे त्यस्ता कलाकार समेत हुन् जसले प्रतेक वर्ष “कलाकारको लागि कलाकार” अन्तरराष्ट्रिय अनलाईन प्रतियोगिता तथा प्रदर्शनी सफल रुपमा सञ्चालन गर्दै आइरहेका छन् ।

उनले विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत नेपाल कला यात्रा पुस्तक प्रकाशन गर्न लागेका छन् ।

त्यस्तै वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ देश विकासमा ललितकला क्षेत्रबाट योगदान गरेका कलाकारहरुलाई कला क्रान्ति वर्ष व्यक्ति, कला क्रान्ति वर्ष पुरुष, कला क्रान्ति वर्ष नारी लगायतका अवार्ड प्रदान समेत गरिरहेका छन् ।

विभिन्न आरोहावरोहका बीच समेत विगत ३४ वर्षदेखि यसै क्षेत्रकाे उत्थान र विकासका लागि प्यासि भएर लागेका उनले विशेषगरी गण्डकी प्रज्ञा प्रतिष्ठानकाे उप-कुलपतिमा आफ्नाे दरखास्त दर्ता गर्नुकाे प्रमुख उद्देश्य भनेकाे प्रतिष्ठानलाई बजेट विनियाेजन गर्ने संस्थाकाे रुपमा स्थापित मात्र नगरि यसलाई आम्दानीकाे स्राेतकाे केन्द्रकाे रुपमा स्थपित गर्नु रहेकाे बताएका छन् ।

याेसंगै प्रतिष्ठानलाई समावेशी, नवप्रवर्तनशील र परिणाममुखी बनाउने आफ्नाे लक्षय रहेकाे बताउँदै गण्डकीको विविध सांस्कृतिक धरोहरलाई विश्व मञ्चमा चिनाउने दृढ संकल्पसहित उक्त पदमा दरखास्त दिएकाे पनि उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्