पोखरा ।।
सञ्चारिका समूह गण्डकीले स्थापना गरेको “सञ्चारिका पत्रकारिता पुरस्कार”बाट राष्ट्रिय सूचना आयोगकी आयुक्त दुर्गा भण्डारी र राससकी जमुना शर्मा (वर्षा) नगद २०/२० हजार रुपैयाँ राशीको सो पुरस्कारबाट पुरस्कृत भएका छन्।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र संचारिका समूह गण्डकी प्रदेशको सह- आयोजनमा “पत्रकार महिलाको क्षमता अभिवृद्धि तथा पुरस्कार अर्पण समारोह” कार्यक्रमका बीच पत्रकारद्वय पुरस्कृत भएका हुन्।
यस्तै सोही कार्यक्रममा म्याग्दीकी देवी जिसी गुरुङ ब्युटी एकेडेमी अवार्डसहित पुरस्कृत भएकी छिन् । उनी पुरस्कार राशि नगद रु १० हजार रुपैयाँबाट पुरस्कृत भएकी हुन् ।
विषेशगरी पत्रकारीकाको क्षेत्रमा विगत लामो समयदेखि दिएको निरन्तरता र योगदानको कदर गर्दै उनीहरुलाई हौसला प्रदान गर्ने हेतुले पुरस्कृत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा पुरस्कार अर्पणसँगै गण्डकी प्रदेशभित्रका महिला पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम समेत दिईएको थियो ।
प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछानेले पत्रकार आचारसंहिताका बारेमा प्रस्तुती दिएका थिए भने संचारिका समूह गण्डकी प्रदेशकी अध्यक्ष कविता श्रेष्ठले पत्रकारिताको क्षेत्रमा महिलाको उपस्थिति, समस्या र चुनौतीबारे प्रस्तुती दिएकी थिइन्।
यस्तै सोही कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले ६० वर्ष पुरानो सञ्चार ऐन नै हाल पनि कार्यान्वयनमा रहेको बताउँदै नियमावलीलाई समय सापेक्ष बनाउनु आवश्यकता रहेको विषय औंल्याएका थिए ।
उनले यस क्षेत्रमा अहिलेको प्रमुख समस्या भनेको नै समय सापेक्ष ऐन नहुन भएको जानकारी दिए। सरकारले अहिले यसै विषयका ध्यानमा राख्दै काम गरिरहेको पनि बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक अब छिट्टै पारित हुने बताए ।
उनले सो विधयेक राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा हाल पेश भएकोले अबको केही दिनमा यसले सार्थकता पाउने स्पष्ट पारे ।
मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक आएपछि मिडियाको महत्व अझ बढ्ने बताउँदै हाल मिडियामा केही भएन भन्ने भाष्य खडा हुनुले नेपाली पत्रकारिता थप जोखिममा बढेको बताए ।
अहिलेको अवस्थामा पत्रकारिता क्षेत्रमा काम गर्ने पत्रकारहरु थप जिम्मेवार भई आफ्नो पेशाप्रति उत्तरदाहित्व वहन गर्दै काम गर्न आग्रह पनि उनले गरेका छन् ।
सरकारले मिडियाको स्वच्छता, उत्तरदायित्व र पेशागत मर्यादा कायम गर्न आवश्यक कानुनको तयारी गरिरहेको मन्त्री गुरुङको भनाई छ ।
उनले यस्ता विधेयकहरू कसैलाई कसी लगाउन भन्दा पनि जनताको हित, लोकतन्त्रको मजबुती र सञ्चार क्षेत्रको मर्यादाका लागि आवश्यक भएकोले नै ल्याउन लागेको बताए।
उनले अब आउने विधेयक लोकतन्त्रविरोधी नभइ लोकतन्त्रलाई थप सुदृढ बनाउने प्रयास भएको उनको पनि भनाई छ ।
मन्त्री गुरुङले पत्रकारको काम नेताको गुण गाउने मात्र नभएर सरकारका चुनौती र समस्यालाई उजागर गर्नु रहेको बताए ।
उनले पत्रकार तथा मिडिया हाउसले ‘राज्य व्यवस्थालाई कसरी अझ सुदृढ र उत्तरदायी बनाउन सकिन्छ भन्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा मन्त्रालयकी सचिव राधिका अर्यालले परम्परागत सञ्चार माध्यमले भन्दा ‘न्यू मिडिया’ले नवीन विषय सार्वजनिक गर्ने भएकाले व्यावसायिक रुपमा उनीहरुलाई टिक्न कठिन भएको बताइन्।
यस्तै कार्यक्रममा प्रेस रजिस्टार गण्डकीकी प्रमुख विमला भण्डारी, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्कीका अध्यक्ष माधव बराल लगायतले आफ्ना भनाइहरु राखेका थिए ।












