मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता २ बालक मृत अवस्थामा फेला
  • प्रमुख खबर

पाेखरा ।।

पोखरा महानगरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका २ बालक मृत अवस्थामा फेला परेका छन् ।

ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका ती बालकहरुको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ।

माछापुच्छ्रे गाउँपालिका–६ निवासी १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार बिहीबार दिउँसो करिब पौने २ बजे खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेका थिए ।

उक्त टोलीले करिब २० फिट गहिराइमा डुबेका बालकहरूको खोजी गरेका थिए।

सशस्त्र प्रहरीका अनुसार विवश परियारको शव दिउँसो २:१० बजे र विशाल परियारको शव ३ बजे फेला पारिएको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्