व्यावसायिक वातावरणमा फर्कन यातायात व्यवसायीलाई पाेखराका मेयरकाे अपिल
  • प्रमुख खबर

पाेखरा ।।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले
पछिल्लो केही दिनदेखि यातायात व्यवसायीहरूको निरन्तर आन्दोलनका कारण जनजीवन प्रभावित भएको भन्दै आन्दोलनको मार्ग छोडी व्यावसायिक वातावरणमा फर्कन अपिल गरेका छन् ।

पाेखरा महानगरपालिका कार्यालयकाे फेसबुक पेजमार्फत महानगर प्रमुख अार्चायले समस्या समाधानका लागि प्रचलित ऐन, नियम र कानुनको परिधिमा रही वार्ता, छलफल र अन्तर संवाद गर्नुपर्नेमा जोड दिँदै यस प्रकारको अपिल गरेका हुन् ।

उनीद्वारा जारी उक्त अपिलमा पोखरा पर्यटनको राजधानी भएको र यहाँ आउने देश विदेशका पर्यटकहरूमा हडताल, सवारी साधनका तानातान र बेलाबखत देखिने अमर्यादित व्यवहारबाट गम्भीर असर पर्नु दुःखद विषय भएको बताउँदै यसले पोखराको छवि र पर्यटन व्यवसायमा प्रत्यक्ष नकारात्मक असर पारिरहेको तथ्य हामी सबैको भएको बताए ।

उनले व्यवसायीका मागहरू प्रति सरकार गम्भीर रहेको बताउँदै हडताल र आन्दोलन कुनैपनि समस्याकाे समाधान नभएको हुदाँ त्यस मार्ग छोडी व्यावसायिक वातावरणमा फर्किएर जनजीवनमा परेको प्रत्यक्ष असरप्रति गम्भीर बन्न गरेका छन् ।

गण्डकी प्रदेश सरकारले गत जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।

त्यसलगत्तै यातायात व्यवसायीहरुले नियमावली खारेज गर्न सरकारलाई ज्ञापन पत्र बुझाउँदै जेठ ८ मा एक हप्ताको अल्टिमेटम दिएका थिए ।

उनीहरुले एक हप्ताभित्र माग पूरा नभए जेठ १५ देखि सेवा ठप्प पार्ने घोषणा गरेका थिए । तर जेठ १५ गणतन्त्र दिवस परेकाले जेठ १६ देखि यातायात सेवा ठप्प पारेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्