पाेखरा ।।
नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी बालकुमारी ललितपुरका विद्यार्थी बोकेर भ्रमणका लागि पोखरा आएको बसमाथि आक्रमण भएको छ ।
उक्त आक्रमणका कारण पाँच विद्यार्थी घाइते भएका छन् भने बसमाथि ढुंगा हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरूमा चितवन घर भई बस चालकको काम गर्ने ४८ वर्षीय तिलक बहादुर थापा मगर, बारा घर भएका बसमा सह-चालकको काम गर्ने ३० वर्षीय मान प्रसाद खरेल र गोर्खाको पालुङटार घर भई ग्यारेजमा काम गर्ने २८ वर्षीय राजेश मरहट्टा छन् ।
ललितपुरबाट पाेखरा घुम्न आएका ती विद्यार्थीहरु माथि उनीहरूले जेठ १८ गते राति साढे ११ बजेतिर पोखराको चाउँथेमा बा १ प ९१६ नम्बरको बसमाथि ढुंगा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले जानकारी दिएका छन् ।
डीएसपी बस्नेतका अनुसार पोखराबाट काठमाडौं फर्कने क्रममा विद्यार्थी सवार बसमाथि उनीहरूले ढुंगा प्रहार गरेका थिए ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू विरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रवको कसुरमा ६ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।









