सपनाको अन्त्य: अमेरिकाबाट डिपोर्ट भई ३७ नेपाली बोरा बोकेर फर्किए”
  • प्रमुख खबर

काठमाडौं//

अमेरिकाबाट डिपोर्ट भएका ३७ जना नेपाली आइतबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। अमेरिका प्रवेशको सपना बोकेर गएका ती नेपालीहरू आफ्नो झोलामा विछिप्त यात्रा र अपूर्ण आशा बोकेर फर्किन बाध्य भएका हुन्।

अध्यागमन कानुन उल्लंघन गरेको भन्दै अमेरिका सरकारले चार्टर्ड विमानमार्फत् ३२ पुरुष र ५ महिला सहित ३७ नेपालीलाई डिपोर्ट गरेको हो। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार, डिपोर्ट भएकाहरू विमानस्थलमा सामान्य अवस्थामा थिए तर विमानभित्रको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन।

उनीहरू करिब राति ९ बजेतिर विमानस्थलमा ओर्लिए पनि आवश्यक प्रक्रिया पूरा गरी बाहिरिँदा मध्यरातको १२ बजेको थियो। कतिपयको हात रित्तो थियो भने केहीले बोरा बोकेका थिए।

अमेरिकाले ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि आप्रवासीमाथि कडाइ गरेको छ। भिसाको म्याद ननाघेको वा भिसा प्रक्रिया पूरा नगरेका, अवैध तरिकाले प्रवेश गरेका र आपराधिक गतिविधिमा संलग्न भएकालाई प्राथमिकतामा राखेर डिपोर्ट गरिएको हो।

सन् २०२५ को जनवरीदेखि मे महिनासम्म अमेरिकाले १४० नेपालीलाई डिपोर्ट गरिसकेको अध्यागमन विभागको तथ्यांक छ। जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मेमा ५८ जना नेपाली डिपोर्ट भएका हुन्।

डिपोर्ट हुने धेरै नेपालीले दलाललाई लाखौँ रुपैयाँ बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गरेका थिए। सन् २०२१ मा ३५, २०२२ मा २२, २०२३ मा २४ र २०२४ मा ५२ नेपाली डिपोर्ट भएका थिए।

नेपाल फर्काइएका व्यक्तिहरूमाथि मानव बेचबिखन नियन्त्रण ब्युरोले प्रारम्भिक सोधपुछ गर्ने गरे पनि दलालविरुद्ध अनुसन्धान पीडितले उजुरी दिएपछि मात्र सुरु हुने प्रचलन छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्