पोखरा ।।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले असार ५ गतेबाट देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेको छ ।
पार्टीको ७ नम्बर क्षेत्रीय ब्युरोले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सो अभियानबारे जानकारी दिएको हो ।
पार्टीका वैकल्पिक पोलिटब्युरो सदस्य तथा क्षेत्रीय ब्युरोका सचिव नारायण अधिकारीले यो देशमा भ्रष्टाचार नभएको र नहुने निकाय कुनैपनि नभएको बताउँदै यसले विकास, निर्माणको काम अगाडि बढ्न नसकेको बताए ।
उनले जताततै मौलाएको भ्रष्टाचारले विदेशी ऋणको भार वर्षेनी बढेको दाबी गरे । ‘देश भ्रष्टाचारले आक्रान्त छ । देशमा भ्रष्टाचार नभएको र नहुने कुनै निकाय छैन,’ उनले भने, ‘मन्त्रालय, प्रशासनिक तथा स्थानीय तह, अड्डा अदालत, प्रहरी प्रशासन, विकास निर्माणका काम जहाँ जाउँ त्यहाँ भ्रष्टाचार छ ।’
जनताले आफ्नो सानोभन्दसानो काम गर्न समेत घुस नदिएसम्म कुनैपनि काम समयमा हुन नसकेको पनि बताए ।
अधिकारीले यस अभियानको दौरान सुरुवाती चरणमा भ्रष्टाचारीको नाम सार्वजनिक गर्ने, दोस्रो चरणमा चेतावनी दिने र तेश्रो चरणमा वैधानिक रुपमा कारवाही गर्ने समेत बताए ।
यस्तै उनले पार्टीले यसभन्दा अगाडि पनि जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेको र सो अभियानमा मार्फत ४ लाख जनतासँग प्रत्यक्ष संवाद गरेको दाबी गरेका छन्।
उनले वैज्ञानिक समाजवादी क्रान्ति नै आजको आवश्यकता र यस क्रान्तिबाट मात्र भ्रष्टाचारको अन्त्य सम्भव भएको पनि बताए ।
त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा ७ नम्बर क्षेत्रीय ब्युरोका सचिवालय सदस्य आकाश गौतमले नेपालमा भ्रष्टाचार संस्थागत रुपमा बढेको बताउँदै आम जनताले नै भ्रष्टाचारीका बिरुद्धमा संघर्ष नगरेसम्म यसको न्यूनीकरण सम्भव नभएको उल्लेख गरेका छन्।
उनले यस अभियानलाई सफल बनाउन सम्पूर्णमा आग्रह समेत गरेका छन्।











