पाेखरा ।।
“छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला”याे लोकभाकाको गितले भने जस्तै आज असार १५ गते राष्ट्रिय धान दिवस, देशका धरै ठाउँहरु धान राेपाई भइरहेकाे छ ।
असार १५ लाई रोपाइँको मुख्य समयको सुरुवातका रूपमा लिइने भएकाले पनि यो दिनलाई ‘धान दिवस’को रुपमा मनाउने गरिएको हो।
विशेषगरी यस दिन विभिन्न संघसंस्थाहरुले विविध कार्यक्रमकाे आयाेजना गरि उल्लासपूर्वक याे दिवस मनाईदैछ।
यसै दिवसका अवसरमा पाेखरामा पनि विविध कार्यक्रमकाे आयाेजना भइरहेकाे छ । पाेखरा पर्यटन परिषदले “पाेखरा सबै माैसमका लागि” र देवी स्थान समाज हेमजाले पाँचौ हेमजा हिले महाेत्सव आयाेजना गरेकाे छ ।
यस दिन धान राेप्ने मात्र हाेइन खेतमा दही चिउरा खाने प्रचलन पनि छ । विशेषगरी कामको चटारोले थकित भएका किसानहरु शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । दही चिउराले शरीरलाई शीतलता प्रदान गरि शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
आयुर्वेदले पनि दही चिउराले शरीरलाई चिसो राख्ने, शक्ति दिने र पाचनमा सहज हुने शीतल आहारको रूपमा मानेको छ। याेसँगै असारमा एक पटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।
सरकारले २०६१ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । कृषि भूमिको संरक्षण, धान उत्पादनमा वृद्धि, किसानको श्रमप्रति सम्मान र कृषिमा आधुनिक चेतना फैलाउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ।
असार १५ सम्म हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक गण्डकी प्रदेशकाे ९ वटा जिल्लामा १८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।
त्यस्तै सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको
प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।
नेपालको प्रमुख खाद्य बाली पनि हो धान । यहाँ करीब ११८ जातका धान पाइने सरकारी तथ्याङ्क छ । तर अझै पनि कयौँ रैथानै जातका धानको पहिचान तथा संरक्षणमा उल्लेख्य प्रगति भएको छैन ।
यस्तै यसरी वार्षिक दिवस मनाइरहँदा मुलुक धानमा भने आत्मनिर्भर हुन सकेको छैन । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अझै पनि १० लाख टन धान अपुग छ ।












