कास्की पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा
  • प्रमुख खबर

Oplus_0

पोखरा ।।

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ।

जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले सोमबार उक्त घोषणा गरेका हुन्।

उनले नागरिकलाई स्वास्थ्यसम्बन्धी चेतनाको वृद्धि गराई रोगबाट सुरक्षित राख्न प्रदेश सरकारले प्राथमिकता दिएको बताए।

यसका लागि प्रदेश सरकारले आफ्नो मातहतका अस्पतालहरू स्तरोन्नति गर्ने कार्यमा लागेको जानकारी पनि दिएका छन् ।

उनले अस्पतालहरूको क्षमता वृद्धिसँगै सेवा(सुविधा तथा नागरिक स्वास्थ्य कार्यक्रमहरूलाई अघि बढाइएको उल्लेख गरे।

स्वास्थ्य जनशक्ति प्रदेशमै उत्पादन गर्न र प्रदेशमा विशिष्टीकृत अस्पताल सञ्चालनको तयारी भइरहेको जानकारी पनि उनले दिए।

प्रदेशलाई आवश्यक मानव स्रोतसहित अन्य सेवाको व्यवस्थित सञ्चालनमा सरकार केन्द्रीत रहेको पनि बताए।

विशेषगरी पछिल्लो समय मानसिक रोग भयावह बन्दै गएकाले त्यसका लागि विशेष अस्पताल आवश्यक देखिएको  हुँदा स्वस्थ मन्त्रालयले त्यसतर्फ उल्लेख्य सुधारका काम अघि बढाइएको दाबी गरे।

स्वास्थ्य र आरोग्यताको क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूका समस्या सम्बोधन गर्न मन्त्रालयबाट पहलकदमी भइरहेको जानकारी दिए ।

यस्तै जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुद्ध सेवा भावबाट उत्प्रेरित स्वयंसेविका, सरकारी संयन्त्र र आम कास्कीबासीको सहयोगबाट यस जिल्ला पूर्ण खोप सुनिश्चितता सम्भव भएको भन्दै आरोग्य र स्वस्थ कास्कीबासी निर्माणको आधार तयार हुँदै गएको पनि बताए।

त्यस्तै सो अवसरमा ६० वर्ष उमेर पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानसहित विदाइ पनि गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्