“राउण्ड फेवा भ्यू फेवा” पदमार्गको सरसफाई
  • प्रमुख खबर

पोखरा ।।

“राउण्ड फेवा भ्यू फेवा”हाईकिङ पदमार्गको सरसफाई गरिएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पदमार्गको सरसफाई गरिएको हो ।

टान गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटन पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ ।

सोही तालिममा सहभागिलाई प्रयोगात्मक कक्षा अन्तर्गत “राउण्ड फेवा भ्यू फेवा” हाईकिङ पदमामार्गको सरसफाई, हाइकिङ तथा क्याम्पिङ कार्यक्रम गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।

सरसफाई अन्तर्गत पदमार्गमा संकलित फोहोरलाई डुंगा मार्फत ओसारी व्यवस्थापन गरिएको थियो । अध्यक्ष आचार्यले फेवाताल काखमा मच्छापुछ्रे हिमालयको सुन्दर दृष्यसँगै पोखराको दृष्य अवलोकनका लागि यो पदमार्ग उपयुक्त रहेको बताए ।

फेवा तालको ड्याम साइडदेखि रानीवन, मेवाखोला हुँदै मागीसम्म एक दिनको हाइकिङ पदमार्ग गर्न सकिन्छ । टानले फेवा ताललाई केन्द्रमा राखेर पोखरा आउने पर्यटकलाई छोटो दुरीको फेवा हाईकिङ पदमार्गको प्रवर्द्धन गरेको हो ।

सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले यो पदमार्ग निर्माण सम्पन्न हुदाँ फेवावतालको एक फन्को लगाउन सकिने र त्यसको लागि पदमार्ग स्तरोन्तीको काम भइरहेको बताए ।

आगामी आर्थिक वर्षमा करिब १३ किलोमिटर लामो पदमार्गको निर्माण सम्पन्न गर्ने वडाध्यक्ष बरालले बताए ।

पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पदमार्ग सफाई अभियान समय समयमा चलाउनुपर्ने बताउँदै यसले हाम्रो विभिन्न ठाउँमा रहेका पदमार्गको संरक्षण गर्छ जसले गर्दा यहाँ ट्रेकिङ गर्न आउने पर्यटकलाई पनि सहज हुने बताए।

उनले त्यसका लागि पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइडको भूमिका महत्वपूण हुने उनको भनाई छ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रमा काम गर्न चाहनेहरुका लागि यही राम्रो सम्भावना रहेको बताए । विदेशमा काम गर्न सोचे जस्तो सहज नरहेको बताउँदै सुवेदीले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड पेसामा यही सम्भावना रहेको चर्चा गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्