मुस्ताङ ।।
उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा मंगलबार आएकाे बाढीले जनजीवन प्रभावित बनेकाे छ । करिब तीन घण्टा लगातार आएको लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
नेपाल–चीन सीमावर्ती लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा एक्कासि आएको बाढीले दुई वटा पक्की मोटरेबल पुलमध्ये एक पूर्णरूपमा र अर्को निर्माणाधीन पुललाई आंशिक रूपमा क्षतिग्रस्त बनाएको हो।
त्यस्तै, बाढीले फलामे पुल र तीन वटा काठेपुलसमेत बगाएर नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार खोलाको बीच भागमा सञ्चालनमा रहेको एउटा होटल र नजिकै रहेको न्याम्डो गाउँका दुई घरका बासिन्दालाई सम्भावित जोखिमका कारण सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन्।
उनका अनुसार बाढीका कारण मानवीय वा पशुचौपायाकाे कुनै क्षति नभएतापनि जनजीवन भने प्रभावित भएको छ । यद्यपि अहिले बाढीको बहाव केही कम भइसकेको छ, तर सम्भावित जोखिम कायमै रहेको प्रहरीको भनाइ छ।
साेही सम्भावित जोखिमलाई मध्यनजर गर्दै सावधानी स्वरूप त्यहाँ इलाका प्रहरी कार्यालय छोसेर र नेचुङस्थित सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मीहरूको टोली खटिएका छन् । उनीहरूले स्थानीयलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन निरन्तर जानकारी दिइरहेका छन्।
जिल्ला प्रहरी कार्यालयले बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र विपद् व्यवस्थापनका लागि आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरेको छ।









