पाेखरा ।।
विश्वकै उत्कृष्ट पाँच प्याराग्लाइडिङ गन्तव्यमध्ये पाेखरा पनि एउटा गन्तव्य हाे । यस पर्यटकीय राजधानी पाेखरामा करिब तीन वर्ष अघि बन्द भएको साेलाे प्याराग्लाइडिङ पून: सञ्चालनकाे लागि स्वीकृत पाएकाे छ ।
अब यस अनुमतिसँगै पोखराको आकाशमा फेरि सोलो प्याराग्लाइडिङका लागि प्याराग्लाइडरकाे पखेटा फिजिने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सुरक्षा मापदण्डलाई विशेष प्राथमिकता दिँदै सोलो उडान सञ्चालनकाे लागि पुनः स्वीकृति दिएको हो।
वि.सं.२०७९ मा सम्पन्न नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे क्रममा नेपाली सेनाका प्याराग्लाइडिङ खेलाडी निसिम थापा मगरको दुर्घटनामा परेर निधन भएको थियाे ।
उनकाे मृत्यु सराङकाेटबाट उडेको केही समयमै करिब १०० मिटर माथिबाट खसेर भएको थियाे । उक्त दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सुरक्षाकाे कारण देखाउँदै अनिश्चितकालका लागि सोलो उडान स्थगन गरेको थियो।
पोखरामा भएको सोलो प्याराग्लाइडिङ स्थगनले यहाँको पर्यटन र आर्थिक क्षेत्रमा गम्भीर असर पुगेको छ। सोलो प्याराग्लाइडिङ बन्द हुँदा साहसिक खेल मन पराउने धेरै विदेशी पर्यटकहरु अन्य देशतर्फ मोडिन बाध्य भए ।
यस उडानमार्फत वार्षिक करोडौं रुपैयाँ बराबरको राजश्व संकलन हुँदै आइरहेकाेमा यसकाे स्थगनले सरकार र स्थानीय निकाय दुवैलाई ठूलो आर्थिक घाटा हुन पुग्याे ।
यति मात्रै नभइ पोखराको पर्यटन विकास, रोजगारी, व्यवसायिक सञ्जाल र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतामा यसले नकारात्मक असर पुगेको छ । तर क्यानले नेपाल हवाई खेलकुद संस्था (ना)लाई सोलो उडानको व्यवसायिक जिम्मेवारी दिएसँगै यसले नयाँ आशा जगाएको छ ।
क्यानले सोलो उडान पुनः सुरु गर्न अनुमतिका लागि पत्राचार गरिसकेको नाका अध्यक्ष अनिल के.सी.ले प्रमुख खबरसँगकाे टेलिफाेन संम्वादमा जानकारी दिएका छन् ।
उनले पुनः उडान सुरु हुने भएपछि अाफुहरु अत्यन्त उत्साहित रहेकाे र यसले आन्तरिक तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली पाइलटहरूको पहिचान बढाउने बताए ।
उनका अनुसार साउन १ गतेबाट नै सोलो उडान पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । गण्डकी प्रदेशमा अहिले ५३ वटा कम्पनी दर्ता भएको र साे कम्पनीबाट व्यवसायी उडानहरु भईरहेका छन् ।
यस्तै हालसम्म करिब ४ सय पाइलटले लाइसेन्स प्राप्त गरेका छन् भने २ सय ६० जना प्रत्यक्ष रूपमा यो पेसामा सकृय रुपमा आबद्ध रहेका छन् ।
अध्यक्ष के.सी.का अनुसार साेला प्याराग्लाइडिङ पून : सुचारुले पाेखराकाे पर्यटन पुनरुत्थान, आर्थिक सुधार र साहसिक खेलकुदको उचाइमा फेरी फर्कने अपेक्षा गरिएको बताए।









