पाेखरा ।।
छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको घटनामा संलग्न दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत)सँग आवद्ध अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेश समितिका संयोजक राजन साउद र केन्द्रीय सदस्य बासुदेव बुढालाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले यस अघि उक्त घटनाका मूख्य योजनाकार नेकपा (बहुमत)का पोलिटब्युरो सदस्य तथा युवा संगठनको फ्याक्सन इञ्चार्ज सुजन विकलाई शुक्रबार साँझ नै पक्राउ गरिसकेको थियाे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले शुक्रबार बिहान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहारीमाथि कालाेमाेसाे दल्ने मूख्य योजनाकार वि.क. सहित अन्य दुई जनालाई समेत पक्राउ गरेकाे बताए ।
पक्राउ परेका उनीहरू विरुद्ध अभद्र व्यवहारमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ । यस विषयलाई लिएर आफ्ना कार्यकर्ता पक्राउ परेसँगै नेकपा (बहुमत)का महासचिव धमेन्द्र बास्तोला ‘कञ्चन’ले अखिल (क्रान्तिकारी)ले पोखरामा गरेको कारवाही सांकेतिक मात्र भएको प्रतिकृया दिएका छन् ।
महासचिव कञ्चनले, पातले छाँगो विद्यालय कै नियन्त्रणमा ल्याउनु पर्ने भन्दै विद्यालयको स्रोतलाई माफियासँग मिलेर निजीकरण गर्ने प्रक्रियाको चौतर्फी विरोध भईरहेको बेला अखिल क्रान्तिकारीले सांकेतिक कारवाही मात्र गरेको शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका थिए ।
उनीद्वारा जारी विज्ञप्तिमा,”नेपालमा विद्यमान दलाल पूँजीवादी सत्ताका संरचनाले सम्पूर्ण सार्वजनिक सम्पत्ति वित्तिय माफियालाई बुझाउने कार्य गर्दै आईरहेको छ । सरकारको देशघाती र जनविरोधी क्रियाकलाप विरुद्ध,
जनअधिकारका पक्षमा तथा भ्रष्टाचारका विरुद्ध आफ्नो पार्टी निरन्तर संघर्षरत छ, भनिएकाे छ । उनले पक्राउ परेका आफ्ना नेता र कार्यकर्ताहरुलाई तत्काल रिहाइ गर्न समेत जाेडताेडका साथ माग गरेका छन् ।









