पोखरा//
नेपाल चिकित्सक संघले सरकारले असार २४ गते भएको तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरेको भन्दै कडा आपत्ति जनाउँदै पुनः आन्दोलनको चेतावनी दिएको छ।
संघका महासचिव डा. सन्जिव तिवारीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको प्रतिबद्धता र विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। उनले तत्काल सहमति कार्यान्वयन गर्न माग गर्दै, सरकारले मौखिक र लिखित वाचा तोडिरहे भविष्यमा त्यस्ता प्रतिबद्धतामा विश्वास गर्न नसकिने चेतावनी दिएका छन्।
प्रधानमन्त्रीको निर्देशनमा भएको सहमतिअनुसार उपभोक्ता संरक्षण ऐनसहितका कानुनी तथा नीतिगत व्यवस्थामा संशोधनका लागि तीन मन्त्री र चिकित्सक संघबीच सहमति भएको थियो। सोअनुसार, ७ दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउने कार्यदल गठन भए पनि, समयसीमा लामो समयअघि सकिँदा पनि कुनै प्रगति नभएको संघको आरोप छ।
संघले कार्यदल निष्क्रिय भएको भन्दै असन्तुष्टि प्रकट गरेको छ र आन्दोलनमा जान बाध्य पारिए, यसपटकको आन्दोलन अघिल्लाभन्दा अझ कडा हुने चेतावनी दिएको छ।











