शनिबार, १० श्रावण २०८२
पोखरा । गण्डकी प्रदेशका पूर्व प्रमुख एंव नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको निधन भएको छ ।
गुरुङको शनिबार (आज) बिहान ८ बजे ७६ वर्षको उमेरमा आफ्नै निवास भरतपुर–२६, दिव्यनगरमा निधन भएको हो । गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए ।
वि.सं २००६ माघ २४ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका साविक घलेल गाविस वडा नं. ४ मा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी पुगेका हुन् ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका थिए ।
नेपाली कांग्रेस विभाजन हुँदा उनी शेर बहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए ।
वि.सं. २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर उनले काम गरेका थिए ।
उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनका कान्छा छोरा आदित्य र श्रीमती लक्ष्मी प्रभा छन् । गुरूङका छोरा देश बाहिर क्यानडामा रहेकाले उनी आएपछि मात्र आइतबार अन्त्येष्टि गरिनेछ ।
गुरुङले वि.सं.२०३६ सालमा पृथ्वी नारायण क्याम्पसमा अध्यापन समेत गरेका थिए । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उनी वि.सं. २०२९ सालमा नेपाली कांग्रेसमा आवद्ध भई लोकतान्त्रिक आन्दोलनमा होमिएका थिए ।
पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले करिब ३ वर्ष जेल जीवनसमेत बिताए । उनले लामो समय नेपाली कांग्रेस चितवनको सचिव र पछि दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । उनी पार्टीको केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका थिए ।









