श्रावण ११, पोखरा ।।
चितवनमा आज देखि लोडसेडिङ शुरू भएको छ ।
गर्मी बढेको भन्दै नेपाल विद्युत् प्राधिकरणको चितवन चनौली वितरण केन्द्रले आज ६ घण्टा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ । बिहान, दिउँसो, बेलुका र रातिसम्म विद्युत् कटौती हुने चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले बताए ।
पश्चिम चितवन र माडी क्षेत्रमा चनौलीबाट विद्युत् आपूर्ति हुँदै आएको छ । अत्यधिक गर्मी र रोपाइँको समयमा आकासे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको भन्दै विद्युत् आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो । उनका अनुसार १३२/३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा तीन सय एम्पिएर भन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर लोड चार सय ५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भन्दै आज एक दिनका लागि तालिका सार्वजनिक गरिएको हो ।

उनले एक हप्ताभित्र विद्युत् लोड व्यवस्थापनमा आएको समस्या समाधान गरिने बताए । वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
तालिकाअनुसार नारायणी–माडी फिडरहरूमा अहिले बिहान ६ बजेदेखि ९ र दिउँसो ३ बजेदेखि ६ बजेसम्म, मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । यस्तै जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ९ बजेदेखि १२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने कार्यालयले जनाएको छ ।









