श्रावण १६ गते, शुक्रबार
पोखरा ।। कोटिहोम सञ्चालनका लागि प्रक्रिया नपुर्याई वर, पिपलका दाउरा काटेको आरोपमा ७ जनाविरुद्द मुद्दा दायर भएको छ ।

डिभिजन वन कार्यालय कास्कीले पोखराका विभिन्न ठाउँमा रहेका सैयौं वर्ष पुराना वर, पिपलका रुख काटेको आरोपमा मानवसेवा फाउण्डेशन नेपालका प्रवन्धक विष्णुराज गिरीसहित ७ जनाविरुद्द कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
कार्यालयले फाउन्डेसनका प्रवन्धक गिरीसहि पोखरा–१४ शुभ मार्ग टोलका ताराप्रसाद तिवारी, योगमाया बराल, पोखरा–१४ राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की, रामकृष्ण अधिकारी, पोखरा–१४ साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेलविरुद्ध मुद्धा दायर गरेको हो ।
उनीहरू सातै जनाले पोखरा महानगरभित्रका विभिन्न वडाका सडक छेउका सार्वजनिक स्थानमा रहेका पुराना ऐतिहासिक चौतारीका वर, पिपलका रूखहरू गैरकानूनी रूपमा कटानमा संलग्न भएको अनुसन्धानमा संलग्न कागजातहरुबाट पुष्टि भएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमले बताए।
गौतमका अनुसार उनीहरूलाई वन ऐन, ०७६ को दफा ४९ (ध) बमोजिम कसुर ठहर भएकाले ऐनको दफा ५० को उपदफा १४ अनुसार सजाय माग गरिएको समेत बताए । यसअनुसार ४६ हजार बिगो असुल गरी ६ महिना कैद, १० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
यसअघि वर, पिपलका रुख काटेकाहरुलाई प्रचलित कानून बमोजिम कारवाही गरिपाउँ भन्दै पोखरा महानगरपालिका, नगरकार्यपालिकाले डिभिजन वन कार्यालयलाई पत्र लेखेको थियो ।
त्यस्तै पोखरा पंक्षी समाज, मेरो नेपाल युवा समाज, वातावरण संरक्षणका लागि महाअभियान कास्की, नागरिक समाज कास्की लगायतका संघ संस्थाहरूहरुले कार्यालयमा उजुरी दिएका थिए ।
सो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामासमेत उजुरी परेका थियो ।
महानगरको पत्र, संघसंस्थाको उजुरी र अख्तियारमा परेको उजुरीका आधारमा अनुसन्धान तहकिकात गर्दा उनीहरुले ऐन, नियमावली अनुसार प्रकृया नै नपुर्याई आफूखुसी वर, पिपलका रुखहरु काट्नुका साथै कानून विपरित सम्झौता गरी समिदा बनाउन कोटिहोमका लागि भरपाई गरी लिने दिने गरेको पाइएकोसमेत दर्ता गरिएको अभियोग पत्रमा उल्लेख छ ।
मानव सेवा फाउण्डेसन नेपालले यसै वर्षको वैशाख १७ गतेदेखि जेठ मसान्त सम्म पोखरामा आयोजना गरेको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ-०८२ को बहानामा समिदाका लागि वर, पिपल, समी लगायतका रुखहरू काटिएपछि यो प्रकरणले विवाद र बहस दुवैं सिर्जना गरेको थियो ।











