बागलुङकाे पानीका मुहानमा कोलिफर्म संक्रमण बढ्दा स्वास्थ्यमा जाेखिम
  • प्रमुख खबर

श्रावण १७ गते, शनिबार
पाेखरा ।। बागलुङका विभिन्न स्थानीय तहमा रहेको खानेपानीको मुहानमा दिसामा पाइने कोलिफर्म जीवाणु फेला परेको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका १० वटै पालिकाका ३ सय ४१ वटा खानेपानीकाे मुहान परीक्षण गर्दा १ सय २५ वटा मुहानमा कोलिफर्मको संक्रमण देखिएको हो।

उक्त परीक्षणका क्रममा सबैभन्दा धेरै जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ ।

त्यहाँ १ सय ६ वटा मुहानमध्ये ४२ मा कोलिफर्म फेला परेको जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिएका छन् ।

त्यस्तै, गलकोट नगरपालिकामा ९१ मुहान परीक्षण गर्दा ४० मा कोलिफर्म देखिएको छ।

बागलुङ नगरपालिकामा २४ मुहानमध्ये ४, काठेखोलाका ४७ मध्ये २७, बडिगाड गाउँपालिकाका ६८ मुहानमध्ये १० मा कोलिफर्म पुष्टि भएको छ।

ढोरपाटन नगरपालिकामा ५ वटा मुहान परीक्षण गर्दा सबै सुरक्षित देखिएका छन् भने निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा परीक्षण नभएको उनले बताए ।

गत वर्ष समेत साे क्षेत्रमा १ सय ३ मुहानमा काेलिफर्म देखिएकाे थियाे । तर यसपटक उक्त संख्यामा वृद्धि भई १ सय २५ पुगेकाे हाे ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले कोलिफर्म देखिएका मुहानहरुको सरसफाइ र व्यवस्थापन सुरु गरिएको बताएका छन् ।

उनका अनुसार “वास प्लान” मार्फत पानी शुद्धिकरण र जनचेतना फैलाउने काम अघि बढाइएको समेत बताए ।

पानीका मुहानमा कोलिफर्म देखापर्नु मुख्यतया मानव र जनावरको फोहरबाट हुने प्रदूषणको संकेत हो। यस्तो पानी प्रयोग गर्दा गम्भीर संक्रमण र रोग लाग्ने जोखिम अत्यधिक हुन्छ।

विशेषगरी कोलिफर्म मिसिएको पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, पिसाब र रगतको सङ्क्रमण जस्ता गम्भीर रोग लाग्न सक्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्