संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान गर्दै
  • प्रमुख खबर

श्रावण १८ गते, आइतबार
पाेखरा ।। प्रधानमन्त्री केपी शर्मा ओली आइतबार(आज) मध्यराति तुर्कमेनिस्तान प्रस्थान गर्दैछन् ।

संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली दुवई हुँदै तुर्कमेनिस्तान प्रस्थान गर्ने भएका हुन्।

नेपालकाे अध्यक्षता रहेको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको समूह (एलएलडिसी) को तेस्रो सम्मेलन साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) तुर्कमेनिस्तानको अवाजा शहरमा हुँदैछ।

साेही सम्मेलनमा प्रधानमन्त्री ओलीले विश्व समुदायलाई सम्बोधन गर्नेछन् भने एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता पनि गर्नेछन्।

त्यस्तै उक्त सम्मेलनका दाैरान उनले त्यहाँ उपस्थित विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल प्रमुख, संयुक्त राष्ट्रसंघका अधिकारी र अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्नेछन्।

उनकाे यस भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमाले सांसद सूर्य थापा, प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत उच्च अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरू सहभागी हुनेछन्।

तुर्कमेनिस्तानमा हुने उक्त सम्मेलन समापन पछि उनी साउन २३ गते मात्र स्वदेश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्