पोखरामा ठूलो परिमाणमा लागू औषध सहित एक युवक पक्राउ
  • प्रमुख खबर

श्रावण २० गते, मंगलबार
पोखरा ।। जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ जिल्ला घर भई हाल पोखरा-२७, रिठेपानी लामटारमा बसोबास गर्दै आएका २४ वर्षीय राजन गुरुङ रहेका छन्।

लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र मातहत ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा-२७, रिठेपानी, लामटारस्थित गुरुङ बस्दै आएको एक घरमा छापा मारेको थियो ।

सो क्रममा प्रहरीले उनले आफु बस्ने कोठामा ठूलो परिमाणमा लागू औषध लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको छ।

प्रहरीले उनको कोठाबाट बुप्रिनर्फिन २ सय ५८ एम्पुल, डाईजापाम २ सय २४ एम्पुल, फेनरागन १ सय ७६ एम्पुल गरी कुल ६ सय ५८ एम्पुल लागू औषध बरामद गर्न सफल भएको छ। साथै, प्रहरीले घटनास्थलबाट मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका गुरुङलाई लागू औषध सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिएका छन् ।

प्रहरीले लागू औषध कारोबार तथा प्रयोग नियन्त्रणका लागि पछिल्लो समय कडा निगरानी साथ कडाई समेत गरिरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्