सहमति कार्यान्वयन नभएको आरोपसँगै शिक्षक महासङ्घ आन्दोलनमा
  • प्रमुख खबर

भाद्र ९ गते, सोमबार
पोखरा ।। नेपाल शिक्षक महासङ्घले ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा आफ्ना मागहरू बेवास्ता गरिएको भन्दै देशव्यापी रूपमा आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।

महासंघले भदौ ९(आज)देखि आन्दोलन गर्ने घोषणा गरेको हो । गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलनबाट ९ बुँदे सहमतिपछि स्थगित भएको आन्दोलन सरकारको झुटका कारण पुनःगर्नुपर्ने बाध्यात्मक परस्थिति सृजना भएको महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिएका छन्।

उनले भने,”गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित गरेका थियौं । तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा दुईपक्षबीच भएको सहमति कार्यान्वयन नभएकोले हामी पुनः आन्दोलनमा होमिने छौं ।”

उनका अनुसार विधेयकले शिक्षकहरूको सेवा-सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाएका छन् ।

महासंघले पहिलेका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने, अस्थायी/राहत शिक्षकको स्थायित्व हुनुपर्ने, शिक्षकलाई सेवा अवधिअनुसार पदोन्नति गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने, म्याद सकिएका अध्यापन अनुमति पत्र नवीकरणको व्यवस्था गर्नुपर्ने, विद्यालयका अन्य कर्मचारी तथा बालकक्षा (ECD) शिक्षकलाई सेवा, पद र तलब–सुविधामा स्पष्ट व्यवस्था दिनुपर्ने, निजी/संस्थागत विद्यालयमा कार्यरत शिक्षकको रोजगार सुरक्षा सुनिश्चित गर्नुपर्ने, सशस्त्र द्वन्द्वमा प्रभावित भएका शिक्षकलाई उपदान दिनुपर्ने, शिक्षक दरबन्दीलाई स्थानीय तहमा दिने सरकारले गरेको निर्णयको फिर्ता गरी संघीय संरचना अनुरूप स्वतन्त्र आयोगमार्फत व्यवस्थापन गर्नुपर्ने जनाएको छ।

महासंघका अध्यक्ष सुवेदीको अनुसार आन्दोलनको पहिलो चरण अन्तर्गत आज प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराउने बताए ।

यस्तै भदौ ११ देखि २० गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा २ घण्टे धर्ना दिने र भदौ २१ देखि दोस्रो चरणमा आन्दोलनको स्वरूपलाई कडा बनाउँदै धर्ना, अवरोध र विरोध प्रदर्शन गर्ने उनले बताए ।

अध्यक्ष सुवेदीले विषेशगरी शिक्षकहरूको आन्दोलन विद्यार्थीको गुणस्तरीय शिक्षा र शिक्षकको सम्मानको लडाइँ भएकोले माग पूरा नभए सडकबाट फर्कन नसकिने समेत स्पष्ट परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्