भाद्र १२ गते,बिहीबार
पोखरा ।। पोखरामा पहिलोपटक “घर निर्माण फेस्ट २०८२” हुने भएको छ। स्किल सेवा पोखराको आयोजनामा भाद्र १३ र १४ गते अमरसिंह चौरमा उक्त फेस्ट हुने भएको हो।
विषेशगरी एउटै छाना मुनि नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू प्रदान गर्न, निर्माणसम्बन्धी मापदण्डबारे जानकारी दिन, अत्याधुनिक प्रविधि, डिजाइन र लगानी व्यवस्थापन सम्बन्धी जानकारी दिन यस महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य रहेको बिहीबार(आज) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ।
यस कम्पनीका पोखराका शाखा प्रमुख समन कुँवरका अनुसार “जे गर्छौ, नेपालमै गर्छौ” भन्ने सोचका साथ निर्माण उद्योगको सम्भावना, नवप्रवर्तन र सशक्ततालाई उजागर गर्न यो फेस्ट आयोजना गर्न लागेको जानकारी दिए।
यस फेस्टमा आधुनिक र पारम्परिक डिजाइन, खुला स्थानको सदुपयोग, ऊर्जा बचत तथा हावापासको उचित व्यवस्थापनका साथमा गुणस्तरीय घर निर्माणको बारेमा जानकारी लिन सकिने उनले बताए।
कुँवरले भने,”घर निमार्ण गर्दा खर्च कम गर्ने उपायहरुको बारेमा यस महोत्सवमा जानकारी दिईने छ । जसमा कस्तो खालको सिमेन्ट, इटा, डन्डि, ग्लास, टाएल्स् प्रयोग गर्ने बारे पनि सिकाइने छ ।
यससँगै लेवर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गगुलर निमार्ण योजना, निमार्ण अवधि देखि फ्लोलिङ्ग र फर्निशिङ सम्मको स्टेप-बाइ-स्टेप सम्मका कुराहरू फेस्ट मार्फत जानकारी गराइनेछ ।”
यस महोत्सवमा विभिन्न निर्माणसम्बन्धी कम्पनी र बैंकको स्टल पनि प्रदर्शनमा रहने उनले बताए।
त्यस्तै यस महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी तथा इच्छुक जनसमुदायका
प्रतिनिधिहरूको सहभागीता रहने पनि कुँवरले बताए ।
पोखरामा पहिलोपटक हुन लागेको यस फेस्टमा ५ हजार भन्दा बढी अवलोकनकर्ताहरुको सहभागीता रहने र महोत्सवले घर निर्माणमा नवीनतम प्रविधि, दक्षता र आधुनिक सोचलाई व्यवहारमा उतार्न मद्दत पुर्याउने अपेक्षा पनि आयोजकले राखेको छ।











