स्किल सेवा पोखराको आयोजनामा सुरु भयो “घर निर्माण फेस्ट २०८२”
  • प्रमुख खबर

भाद्र १३, पोखरा ।। पोखरामा पहिलोपटक “घर निर्माण फेस्ट २०८२” सुरु भएको छ। स्किल सेवा पोखराको आयोजनामा शुक्रबार(आज) बाट अमरसिंह चौरमा उक्त फेस्ट सञ्चालन भइरहेको छ।

फेस्ट भोलि शनिबार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। यस फेस्टको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर क्षेत्रमा घर तथा भवन निर्माण गर्दा तोकिएका मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका छन्।

महानगरपालिकाको नेतृत्वमा सुरक्षित, व्यवस्थित र दिगो शहरी विकास गर्ने लक्ष्यसहित ‘भवन तथा पूर्वाधार निर्माण मापदण्ड २०८०’ जारी गरिएको उल्लेख गर्दै उनले दशकौँ देखिको प्रतीक्षापछि उपयुक्त मापदण्ड कार्यान्वयनमा आएको जानकारी दिए ।

विषेशगरी एउटै छाना मुनि नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू प्रदान गर्न, निर्माणसम्बन्धी मापदण्डबारे जानकारी दिन, अत्याधुनिक प्रविधि, डिजाइन र लगानी व्यवस्थापन सम्बन्धी जानकारी दिन यस महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य रहेको यस कम्पनीका पोखराका शाखा प्रमुख समन कुँवरले जानकारी दिएका छन्।

उनका अनुसार “जे गर्छौ, नेपालमै गर्छौ” भन्ने सोचका साथ निर्माण उद्योगको सम्भावना, नवप्रवर्तन र सशक्ततालाई उजागर गर्न पनि यो फेस्ट आयोजना गरिएको बताए ।

कुँवरले भने,”घर निमार्ण गर्दा खर्च कम गर्ने उपायहरुको बारेमा यस महोत्सवमा जानकारी दिईने छ । जसमा कस्तो खालको सिमेन्ट, इटा, डन्डि, ग्लास, टाएल्स् प्रयोग गर्ने बारे पनि सिकाउने छौं । यससँगै लेवर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गगुलर निमार्ण योजना, निमार्ण अवधि देखि फ्लोलिङ्ग र फर्निशिङ सम्मको स्टेप-बाइ-स्टेप सम्मका कुराहरू फेस्ट मार्फत जानकारी गराइनेछ ।”

दुई दिनसम्म सञ्चालन हुने यस फेस्टमा आधुनिक र पारम्परिक डिजाइन, खुला स्थानको सदुपयोग, ऊर्जा बचत तथा हावापासको उचित व्यवस्थापनका साथमा गुणस्तरीय घर निर्माणको बारेमा जानकारी लिन सकिनेछ ।

महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी तथा इच्छुक जनसमुदायका प्रतिनिधिहरूको सहभागीता रहेको छ। यस महोत्सवमा विभिन्न निर्माणसम्बन्धी कम्पनी र विभिन्न बैंकको गरेर ३५ वटा स्टल रहने उनले बताए ।

यससँगै महोत्सवमा इन्जिनियर, आर्किटेक्टसहित प्राविधिक जनशक्तिहरुले जागिरका लागि निवेदन पनि दिन सक्ने उनले बताए ।

पोखरामा पहिलोपटक आयोजना भएको यस फेस्टमा ५ हजार भन्दा बढी अवलोकनकर्ताहरुको सहभागीता रहने र महोत्सवले घर निर्माणमा नवीनतम प्रविधि, दक्षता र आधुनिक सोचलाई व्यवहारमा उतार्न मद्दत पुर्याउने अपेक्षा आयोजकले राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्