पोखरा–२८ का समस्यामा महानगर प्रमुखको सक्रियता, समस्या समाधान गर्दै जाने प्रतिबद्धता
  • प्रमुख खबर

भाद्र १६, पोखरा ।। पोखरा महानगरपालिका वडा नं.२८ का स्थानीयहरूले आफ्ना समस्याहरू बारे नगर प्रमुख धनराज आचार्यलाई जानकारी गराएका छन् ।

उनीहरूले नियमित विद्युत् आपूर्तिमा भइरहेको समस्या, यातायातको समस्या, कृषिजन्य उत्पादनको बजारीकरण, बाँदर आतङ्क, खानेपानी लगायत समस्याहरू नगर प्रमुख समक्ष राखेका छन् ।

नगर प्रमुख आचार्यले पोखरा २८ वासीका समस्याहरू बारे आफू जानकार रहेको उल्लेख गर्दै ती समस्याहरूको क्रमशः समाधान गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।

महानगरपालिकाको तर्फबाट हुने कार्य तत्काल अघि बढाउने र अन्य निकायहरूले गर्ने कार्यका सम्बन्धमा आवश्यक समन्वय गर्ने उनले बताए ।

महानगरको ग्रामीण क्षेत्रहरूमा बाँदर लगायतको समस्या रहेकाले ती समस्याहरूको समाधानका लागि वन क्षेत्रमा फलफूलका बिरुवाहरू लगाउने र बाँदर धपाउनका लागि अन्य व्यवहारिक उपायहरू समेत अपनाउन उनले सुझाव पनि दिए।

विद्युत् नियमित आपूर्तिका लागि विद्युत् प्राधिकरणसँग समन्वय गर्ने र खानेपानीको नियमित आपूर्तिका लागि विशेष पहल गर्ने उनले बताए।

कृषिजन्य उत्पादनको बजारीकरणका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको कृषि एम्बुलेन्सको सेवालाई विस्तार गरिने उनले स्पष्ट पारे ।

यातायात सेवाको नियमितताका लागि सम्बन्धित यातायात व्यवसायीहरूसँग समन्वय गरेर समस्याको समाधान गरिने उनले बताए । जनसरोकारका विषयहरूमा आफू गम्भीर रहेको उनले बताए ।

नगर प्रमुखसँगको भेटपछि आफ्ना समस्याहरू समाधान हुने विश्वासमा रहेका स्थानीयहरूले खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्