पोखरा–१८ चिसाखोलाबाट लागू औषधसहित दुई युवक पक्राउ
  • प्रमुख खबर

भाद्र १९, पोखरा ।।
जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणको लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा -१८ चिसाखोला बस्ने १८ वर्षीय प्रकाश परियार र सोही स्थानमा बस्ने ३२ वर्षीय भीम बहादुर मगर रहेका छन्।

विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले बिहीबार (आज) साँझ उनीहरू बस्ने कोठामा छापा मार्ने क्रममा ठूलो परिणाममा लागू औषध बरामद गर्न सफल भएको हो ।

प्रहरीले परियारको कोठाबाट डुह्वेल- १०० लेखिएको टापेन्टाडोल ट्याब्लेट ८ हजार चक्की र डुह्वेल- ७५ लेखिएको टापेन्टाडोल ट्याब्लेट ४ हजार ९ सय चक्की गरी १२ हजार ९ सय चक्कीको लागू औषध बरामद गरेको छ ।

यस्तै उनको साथबाट ग २५ प ४४३८ नम्बरको मोटरसाइकल १ थान र मोबाइल फोन १ थान पनि बरामद गर्न सफल भएको छ ।

त्यस्तै प्रहरीले मगरको घरबाट समेत डुह्वेल-१०० लेखिएको टापेन्टाडोल ट्याब्लेट ६ सय ३९ चक्की, नगद २ लाख ३९ हजार रुपैयाँ साथमा लु.प्र. ०१००७ प ४४४७ नम्बरको स्कुटर १ थान र मोबाइल फोन १ थान फेला पारेको छ ।

लागू औषधसहित पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार बरामद गरिएको ठूलो मात्राको लागू औषध टापेन्टाडोल ट्याब्लेट अत्यधिक प्रयोग हुने र लत लाग्ने औषध भएको हुँदा पछिल्लो समय यसको अवैध कारोबार बढ्दै गएको पाइएको समेत बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्