आश्विन २, पाेखरा ।।
सरकारले प्रहरी संगठनभित्र ठूलो संख्यामा प्रहरीहरुकाे सरुवा गरेकाे छ । बुधबार मात्रै ४८ जना प्रहरी उपरीक्षक (एसपी) र ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरुवा गरिएको हाे ।
यससँगै कास्की जिल्ला प्रहरीको नेतृत्व पनि परिवर्तन भएको छ। कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीया कास्कीबाट सरुवा भइ केन्द्रीय अनुसन्धान ब्युरो, अनुसन्धान महाशाखा लाजिम्पाट पुगेका छन्।
उनको स्थानमा भने काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत अन्वेषण योजना तथा विकास शाखा रानीपोखरीमा कार्यरत नवीन कार्कीलाई पठाइएको छ ।
कास्कीको नेतृत्व सम्हाल्न आएका एसपी कार्कीलाई भने पछिल्लो समय जेनजी आन्दाेलनका क्रममा भएको जिल्लाकाे कार्यालय भवनमा पुगेकाे क्षति र जनताको शान्ति–सुरक्षा कायम राख्दै चाँडपर्वका बेला संभावित अपराध नियन्त्रण गर्नु प्रमुख चुनौती रहने देखिएको छ।
विशेषगरी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आन्दोलन पश्चात सुरक्षा संयन्त्रलाई सबल बनाउन व्यापक सरुवा गरेको हो।
कास्की बाहेक अन्य जिल्लाहरुमा पठाइएका नयाँ प्रहरी प्रमुखहरुमा अंगुर जिसी बाँके, मोरङमा कवित कटुवाल, सुनसरीमा केशवकुमार थेबे, सप्तरीमा गौतमकुमार केसी, दाङमा दीपेन्द्र श्रेष्ठ र पाल्पामा दीपेन्द्र पंजियार थारु रहेका छन् ।
यस्तै नरेन्द्र चन्दलाई कैलाली, महेन्द्र नेपाल डोटी, युवराज खड्का पूर्वी नवलपरासी, सन्तोष आचार्य कपिलवस्तु, पर्सामा सुदीपराज पाठक, भक्तपुरमा सूर्यबहादुर खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई पनि सरुवा गरिएको छ ।











