असोज ९, काठमाडौं ।।
प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयमा नागरिकलाई छिटो र सहज रूपमा सेवाप्रवाह गरिने बताएकी छन् । बिहीबार(आज) राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
सरकारी कर्मचारीको व्यवहारका कारण हुने समस्या कम गर्न तीनै तहमा हटलाइनको व्यवस्था गरिने जानकारी गराइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “सेवाग्राहीको काममा ढिलासुस्ती, मोलमोलाई, काम पन्छाउने, घुस माग्ने वा अपमानजनक व्यवहार भएमा सम्बन्धित निकायमा उजुरी गर्न सकिने व्यवस्था गरिएको छ। हाम्रो सरकारले भ्रष्टाचार न्यूनीकरण, सामाजिक न्यायको प्रत्याभूति र सहज सेवा प्रवाहमा दृढताका साथ काम गर्नेछ।”
उनले यस पहलमार्फत सेवाग्राहीले सरकारी सेवामा अनावश्यक झन्झट र दु:ख भोग्न नपरोस् भनी सुनिश्चितता दिलाउने उद्देश्य रहेको पनि बताइन् ।
उनले भदाै २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गर्ने गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्ध समेत व्यक्त गरेकी छन् ।
यस्तै उनले प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरी उनीहरूको परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि सम्बोधनको क्रममा उल्लेख गरेकी छन् । यससँगै घाइतेहरूको निःशुल्क उपचार भइरहेको उनले बताइन् ।
त्यस्तै प्रधानमन्त्री कार्कीको संवैधानिक प्रक्रियाबाटै संविधान र शासकीय प्रणाली संशोधन गर्नुपर्ने बताइन् ।
नेपालको संविधान र शासकीय प्रणालीको संशोधन लगायत जेन–जी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएको बताउँदै युवा पुस्ता लगायत परिवर्तन पक्षधर आमनेपाली नागरिकलाई आउँदाे निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह समेत गरिन् ।
यसैबीच प्रदर्शनका क्रममा उद्योग व्यापार तथा व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोडबाट प्रभावित उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न राहत, कर, सहुलियत सुविधाहरू प्रदान गरी आर्थिक क्रियाकलाप सहज रूपमा सञ्चालन गर्न अहिलेको सरकारले एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याएको उनले स्पष्ट पारिन् ।








