अश्विन १२,चितवन
चितवनको मुग्लिन–नारायणघाट सडकखण्ड फेरि पहिरोका कारण प्रभावित भएको छ। तुइनखोलामा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक केही घण्टापछि खुलाएर सवारीसाधन चल्न थालेको थियो। तर आइतबार बिहान दासढुंगा नजिकै पुनः अर्को पहिरो खस्दा सडक एकतर्फी मात्रै सञ्चालनमा आएको हो।
सडक विभागका अनुसार खसेको पहिरो ठूलो नभएकाले करिब एक घण्टाभित्र पूर्ण रूपमा हटाइने अपेक्षा गरिएको छ। त्यसपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आउनेछ। अहिले भने सवारीसाधनलाई पालैपालो एकतर्फी आवागमन गराइएको छ।
सडकमा बारम्बार पहिरो खस्दा यात्रुहरूलाई असुविधा भएको छ। चितवन, काठमाडौँ र पोखरा आवतजावत गर्ने यात्रुहरूलाई थप समस्या हुन सक्ने भएकाले विभागले सतर्क रहन आग्रह गरेको छ।
मुग्लिन–नारायणघाट सडकखण्ड वर्षातमा मात्र होइन, सुख्खा मौसममा समेत निरन्तर पहिरोको जोखिममा रहने संवेदनशील क्षेत्रमा पर्छ। यसले यात्रु तथा यातायात व्यवसायीलाई वर्षभरि नै चुनौती थपेको छ।











