असोज १६, पोखरा ।।
मनसुनी वायु थप सक्रिय हुँदा गएरातीदेखि देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि वर्षा गराउने प्रणाली थप सक्रिय हुने भन्दै सोमवार २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमिक रुपमा सर्न थालेका कारण नेपालमा मनसुनी वायु सक्रिय भएको हो ।
विभागले विशेषगरी बागमती प्रदेशका काठमाण्डौ उपत्यकामा आजदेखि २० गतेसम्म नारायणी, बागमती, कमला, कोशी नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाव उल्लेख्य बढ्ने र खतराको तह आसपास पुग्न सक्ने देखिएको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत र चुरे भई बहने स–साना नदीनालाहरुमा आकस्मिकरुपमा पानीको बहाव हुन सक्ने सम्भावना रहेको छ ।
यसैबीच राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना निकालेर आउँदो सोमवारसम्म अत्यन्त जरुरी नभएसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अपिल गरेको छ । प्राधिकरणले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैलाई उच्च सतर्कताका लागि आग्रह गरेको हो । प्राधिकरणले निकालेको विज्ञप्तिमा वर्षा र बाटोको अवस्था हेरी गाडी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र त्यसको निर्णय पालना गराउने व्यवस्था गर्न सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई आग्रह समेत गरिएको छ ।









