कार्तिक ११, तनहुँ ।।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा माइक्रो दुर्घटना भएको छ। मंगलबार(आज) बिहान भएको उक्त दुर्घटनामा १४ जना घाइते भएका छन्।
चितवनबाट लमजुङतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो अचानक अनियन्त्रित भई सडक छेउको पर्खालमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनाको क्रममा सो माइक्रो सडक छेउमा रोकि राखिएको नेपाल विद्युत् प्राधिकरणको बा १ञ १२८७ नम्बरको गाडीमा समेत ठोक्किएको थियो । जसकारण दुवै सवारी साधनमा क्षति पुगेको प्रहरीको भनाइ छ।
दुर्घटनामा घाइते हुनेमध्ये माइक्रो चालक लमजुङको बेँसीशहर नगरपालिका–८ का ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ रहेका छन्।
सो दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका–१६ की ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ र ३७ वर्षीय डोलराज तामाङ घाइते भएका छन्।
त्यस्तै बाँकी घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण प्रारम्भिक रूपमा चालकले माइक्रोको नियन्त्रण गुमाउनु नै रहेको देखिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।









