कार्तिक १८, एजेन्सी ।।
फिलिपिन्सको पूर्वी र मध्य भागमा शक्तिशाली आँधी ‘कलमेगी’ (स्थानीय नाम ‘टिनो’) को प्रभावमा परेको छ।
प्रशान्त महासागरबाट तीव्र गतिमा अघि बढेको यो टाइफुनका कारण दशौँ हजार नागरिकलाई सुरक्षित स्थलमा सारिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ।
आँधीका कारण तटीय क्षेत्रमा माछा मार्ने कार्य रोकिएको छ भने अधिकारीहरूले तीन मिटर (झन्डै १० फिट) उचाइका ज्वारभाटा आउन सक्ने चेतावनी दिएका छन्। यससँगै भीषण वर्षासँगै पहिरो र बाढीको जोखिम बढेको बताइएको छ।
फिलिपिन्स मौसम विभागका अनुसार ‘कलमेगी’ सोमवार बिहान पूर्वी समर प्रान्तको गुइआन शहरबाट करिब २ सय ३५ किलोमिटर पूर्वमा सक्रिय थियो।
यसले १ सय २० किलोमिटर प्रतिघण्टा स्थायी र १ सय ५० किलोमिटर प्रतिघण्टासम्मका तीव्र हावा बहाइरहेको छ।
टाइफुन पश्चिमतर्फ सर्दै सेबू र अन्य केन्द्रीय टापु प्रान्तहरूमा असर पुर्याउने अनुमान गरिएको छ।
अधिकारीहरूले जनतालाई समुद्री क्षेत्रबाट टाढा रहन र आकस्मिक उद्धार टोलीहरू तयारी अवस्थामा राख्न आग्रह गरेका छन्।













