राहदानी वितरणमा कटौती : अभाव हुन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन
  • प्रमुख खबर

कात्तिक १९, काठमाण्डौं ।।

राहदानी विभागले राहदानी वितरणमा कटौती गरेको छ । राहदानी सीमित रहेको हुँदा सेवाग्राहीको मागसँग सन्तुलन मिलाउन वितरण संख्या घटाएको विभागले जनाएको छ । विभागले हिजोदेखि दिनमा एक हजार राहदानी वितरण गर्ने गरी कोटा निर्धारण गरेको छ । विभागसँग अब १ लाख ७३ हजार प्रति राहदानी बाँकी छ ।

राहदानी खरिदका लागी विभागले नयाँ आपूर्तिकर्तासँग गएको साउनमा गरेको सम्झौता अनुसार फागुन दोस्रो हप्ताबाट मात्र आपूर्ति हुनेछ । प्रधानमन्त्री सुशीला कार्कीले राहदानीको अभाव हुन नदिन चासो राखेकी छन् । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी समालेकी उनले हिजो मन्त्रालय र राहदानी विभागका कर्मचारीसँग यसबारे जानकारी लिएकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले राहदानी वितरणका विषयमा जानकारी माग गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायतलाई राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिएकी छन् । राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न उँनको निर्देशन छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्