कार्तिक २२, काठमाडौं ।।
सरकारले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै सुरक्षण मुद्रण केन्द्रमार्फत छाप्न थालेको छ। लामो समयदेखि विदेशी कम्पनीमार्फत हुने छपाइ अब देशभित्रै गर्न थालिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शनिबार(आज) काभ्रेको बनेपास्थित सुरक्षण मुद्रण केन्द्रमा बटन थिचेर छपाइको औपचारिक शुभारम्भ गरे।
उनले कानुनी जटिलता र विभिन्न चुनौतीबीच पनि आफ्नै प्रेसबाट छपाइ सुरु हुनु सरकारको उपलब्धि भएको बताए।
उनका अनुसार, वर्षौंदेखि धुलोमा थन्किएका मेसिन र पार्टपुर्जा मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो। “मेसिन र ठाउँ दुवै खण्डहर बनेका थिए, अहिले त्यही ठाउँबाट हामीले काम थाल्यौं,” मन्त्री खरेलले भने।
सुरक्षण मुद्रण केन्द्रमा रहेका अत्याधुनिक मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, हुलाक टिकट लगायतका छपाइ कार्य पनि गर्न सकिने भएपनि विगतमा ती उपकरण प्रयोगविहीन बनेका थिए।
उनले अहिले देशभर करिब २८ लाख सवारी चालक अनुमतिपत्र छाप्नुपर्ने अवस्था रहेको जानकारी दिए।
विषेशगरी सरकारी प्रेसबाट छपाइ सुरु भएपछि सुरक्षा सुनिश्चितता बढ्ने र विदेशी कम्पनीमा जाने करोडौँ रुपैयाँ देशमै रहने पनि उनले बताए।
उक्त शुभारम्भ कार्यक्रममा मन्त्री खरेलले, यो केवल छपाइको सुरुवात मात्र नभई, सुशासन र स्वाभिमानको प्रतीक समेत भएको बताए।
मन्त्रालयले आगामी दिनमा राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्मका सबै छपाइ कार्य क्रमशः आफ्नै सुरक्षण मुद्रण केन्द्रमार्फत गर्ने तयारी पनि गरेको छ।









