देशभर वर्षाको प्रकोप : कृषि क्षेत्रमा मात्र ३ अर्ब ५५ करोडको क्षति
  • प्रमुख खबर

कार्तिक २३, काठमाडौं ।।
असोज दोस्रो हप्तादेखि लगातार परेको वर्षाका कारण देशभरको कृषि तथा पशुपालन क्षेत्रमा ठूलो मात्रामा क्षति पुगेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उक्त वर्षका कारण यस क्षेत्रमा ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो ।

विषेशगरी बाढी, पहिरो र निरन्तर वर्षाले खेतमा रहेको धानबाली, बीउबिजन, पशु–पक्षी र कृषि पूर्वाधारमा ठूलो नोक्सानी पुगेको छ।

प्रदेशस्तरीय कृषि कार्यालयहरूले स्थानीय तहसँगको सहकार्यमा क्षतिको तथ्यांक संकलन गरी मन्त्रालयमा पठाएका छन्।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार सङ्कलित विवरणका आधारमा प्रभावित किसानलाई राहत, सहयोग, बीमाको सहजीकरण तथा अन्य आवश्यक सहयोगका कार्यक्रम अघि बढाइनेछ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग पनि यस विषयमा समन्वय भइरहेको उनले बताए।

जोशीका अनुसार खेतमा काटेर सुकाइराखिएको धान वर्षाले भिजेर कुहिएको र उत्पादन घट्ने अनुमान गरिएको छ।

यस क्षतिको विस्तृत अध्ययनका लागि मन्त्रालयले कार्यदल गठन गरेर थप विश्लेषण सुरू गरेको गरेको समेत मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कात्तिक महिनामा परेका वर्षाका कारण थप भएको नोक्सानीबारे पनि विवरण सङ्कलन जारी रहेको जनाएको छ।

प्रभावित किसानलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्