कार्तिक २३, पोखरा ।।
कास्की प्रहरीले भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा स्थायी घर भई हाल पोखरा–५, पर्स्याङ बस्ने २८ वर्षीय दीपक कुँवर र धादिङ स्थायी घर भई सोही वडामा बस्ने २३ वर्षीय दीपक राना मगर रहेका छन्।
जेनजी प्रदर्शनीका क्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरू, पसल र निजी घरहरूमा तोडफोड, आगजनी र लुटपाट भएका थिए।
सो घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको पहिचान, निगरानी र पक्राउ अभियान तीव्र पारेको थियो। यसै क्रममा प्रहरीलाई प्राप्त विशेष सूचनाको आधारमा
खोजतलास गर्दै जाँदा उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जनाए अनुसार उनीहरू बसोबास गर्दै आएको ठाउँबाट खानतलासी गर्दा चोरी र लुटपाटमा प्रयोग भएका विभिन्न सामानहरू बरामद भएको छ।
बरामद सामग्रीहरुमा मन्टिप्लग २ थान, हाना इन्स्ट्रुमेन्ट (HANNA Instruments) लेखिएको मेसिनसहितको डिब्बा – १ थान, विभिन्न व्यक्तिका नाममा जारी स्मार्ट कार्ड ३६ थान बरामद भएको छ ।
यस्तै बा ५९ प ८४३८ नम्बरको २२० सिसीको मोटरसाइकल १ थान, डेल कम्पनीका सिपियु ३ थान, डेल कम्पनीको मोनिटर १ थान, किबोर्ड र माउस – ३/३ थान र क्यानन कम्पनीको प्रिन्टर १ थान पनि प्रहरीले बरामद गरेको छ।
कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले पक्राउ परेका दुवै जना माथि आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको समेत उनले बताए ।













