कार्तिक २४, पोखरा ।।
गण्डकी प्रदेशको सांस्कृतिक विविधता, परम्परा र मौलिक पहिचानलाई एकै स्थलमा प्रतिविम्बित गर्ने उद्देश्यसहित “मौलिक (कोसेली) घर” निर्माण कार्यको सोमबार(आज) एक विशेष समारोहका बीच शिलान्यास गरिएको छ।

पोखरा–९ नयाँबजारस्थित गण्डकी प्रदेश संग्रहालय परिसरमा आयोजित समारोहमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्दै परियोजनाले प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री पाण्डेले मौलिक घर निर्माणले गण्डकी प्रदेशको सांस्कृतिक पहिचान झल्काउने मात्र नभई आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने केन्द्र बन्ने उल्लेख गरे ।
उनले भने, “संग्रहालयमा बन्दै गरेको कोसेली घरले पर्यटकलाई प्रदेशका विविध संस्कृतिबारे बुझ्न सहज बनाउनेछ । यसले पोखराको पर्यटन प्रवद्र्धनमा पनि ठोस योगदान पुर्याउनेछ।”
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सुशासन र पारदर्शिता कायम गर्दै भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको बताए । “प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार सबैले गर्नुपर्छ। फेवाताल संरक्षणदेखि पर्यटकको बसाइ लम्ब्याउने काममा प्रदेश सरकार लागिरहेको छ। दुई वर्षभित्र प्रदेशको विकासको दिशा स्पष्ट भएको छ । गण्डकी प्रदेश सातवटै प्रदेशमध्ये नेतृत्वदायी भूमिकामा छ।”, उनले भने ।
यस्तै उक्त शिलान्यास कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सांस्कृतिक संरक्षणका योजना सफल बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य भएको बताए।
उनले भने,”मौलिक संस्कृति र परम्परा जोगाउनु हाम्रो साझा जिम्मेवारी हो । पश्चिमी संस्कृतिको तीव्र प्रभावका कारण मौलिक परम्परा, रीतिरिवाज र कला हराउँदै गएको अवस्थामा संग्रहालयको विस्तारले तिनको पुनर्जीवनमा सहयोग पुुग्ने छ ।”
गण्डकी प्रदेश प्राकृतिक सुन्दरता, जातीय विविधता र सांस्कृतिक समृद्धिको केन्द्र भएको र यस प्रदेशमा पाइने मौलिक संस्कृतिहरू आधुनिक प्रभावका कारण लोप हुने अवस्थामा पुगेकाले तिनको संरक्षण, अध्ययन र प्रदर्शन नै संग्रहालयको प्रमुख उद्देश्य भएको उनले स्पष्ट पारे ।
मन्त्री थापाका अनुसार मौलिक घरको निर्माणले ग्रामीण बस्तीमा पाइने कला, शिल्प र वास्तुकलाको मौलिक स्वरूप प्रस्तुत गर्दै आगन्तुकलाई गण्डकी प्रदेशको जीवनशैली र सांस्कृतिक समृद्धि प्रत्यक्ष अनुभव गराउनेछ।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर सुवेदीका अनुसार, मौलिक (कोसेली) घर परियोजनाको कुल लागत रु. २ करोड ८३ लाख २७ हजार ९ सय ३२ रुपैयाँ ३ पैसा (भ्याट र कन्टिन्जेन्सीसहित) रहनेछ।
भ्याटसहितको सम्झौता रकम रु. १ करोड ८५ लाख ८८ हजार २ सय ६४ रुपैयाँ ६६ पैसा तय गरिएको छ।
निर्माण कार्य टुडे बिल्डर्सले जिम्मा लिएको हो र आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सन् १९७२ मा युनेस्कोको सिफारिसपछि क्षेत्रीय संस्कृतिको संरक्षणका लागि संग्रहालय स्थापना गर्ने योजना बनेको थियो।
सोही अनुसार आ.व. २०३९/४० मा कार्यालय स्थापना भई सामग्री संकलन थालिएको र वि.सं. २०४१ माघ २३ गते पोखरा क्षेत्रीय संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको थियो।
हाल गण्डकी प्रदेश सरकार मातहत सञ्चालित यो संग्रहालयले प्रदेशका जातीय, भाषिक र सांस्कृतिक विविधता झल्काउने सामग्रीहरू प्रदर्शन गर्दै आएको छ।
२४ रोपनी क्षेत्रफलमा फैलिएको यस संग्रहालयले विद्यार्थी सदस्यता कार्यक्रममार्फत युवा पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्दै आएको संग्रहालयको प्रमुख करुणा राईले जानकारी दिइन्।









