कार्तिक २४, पोखरा ।।
पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सुचाउ (Xuzhou) शहरसँग शिक्षा, प्रविधि र पर्यटनका क्षेत्रमा सहकार्यको लागि सम्भावना खोज्न पहल अघि बढेको छ।
सोमबार(आज) पोखरा महानगरका प्रमुख धनराज आचार्य र चीन प्रसिद्ध विश्वविद्यालय, सुचाउ प्रविधि विश्वविद्यालयका प्रोफेसर झाङ् वि बीच भएको भेटघाटमा दुवै पक्षबीच शिक्षा, सूचना प्रविधि, कृषि, पूर्वाधार र पर्यटन विकासमा सहकार्यका लागि गहन छलफल भएको छ।
भेटका क्रममा प्रोफेसर विले वैकल्पिक ऊर्जाको विकास, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदान–प्रदानमा पनि संयुक्त रूपमा काम गर्न सकिने उल्लेख गरेका छन् ।
यससँगै प्रोफेसर विले पोखरा महानगरसँग शैक्षिक र प्रविधि आदान–प्रदानका परियोजना सञ्चालन गर्न आफैं अग्रसर रहने प्रतिबद्धता पनि जनाए ।
यस्तै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र सुचाउ शहरबीच सिधा हवाई उडान सञ्चालनको सम्भावनाबारे पनि आफूले चीन पक्षमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
त्यस्तै महानगर प्रमुख आचार्यले पोखरालाई ‘पर्यटन राजधानी’का रूपमा अन्तर्राष्ट्रिय बजारमा चिनाउने अभियानमा चीनका विभिन्न शहरहरूको सहकार्य महत्वपूर्ण भएको बताए ।
उनले सुचाउ शहर र उक्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमहरूमा सहभागिताका लागि निमन्त्रणा पनि गरे ।
प्रमुख आचार्यले भने,“पोखरा र सुचाउबीचको सम्बन्धलाई केवल औपचारिक भगिनी संबन्धमा मात्र सीमित नराखी, व्यवहारिक सहकार्यमा रूपान्तरण गर्न सकिन्छ,”।
विषेशगरी आजको भेटघाटले पोखरा र सुचाउबीचको सम्बन्धलाई नयाँ ऊर्जा दिने संकेत गरेको महानगरले जनाएको छ।









