कार्तिक २५, पोखरा ।।
जनता जनार्दन अभियान नेपाल पोखरा कास्कीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई शहरको समग्र सुधार, सुशासन, सुरक्षा र सरसफाइका लागि व्यावहारिक सुझाव सहित ध्यानाकर्षण-पत्र बुझाएको छ।
यस अभियानका संयोजक तथा सञ्चारकर्मी शिवराज बस्ताकोटीले मंगलबार(आज) मेयर आचार्यलाई ध्यानाकर्षण-पत्र बुझाएको हो ।
उक्त पत्रमा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यले विश्वभर परिचित पर्यटनको राजधानी पोखरालाई अनुशासित, सभ्य, हरित र स्मार्ट शहरको रूपमा रूपान्तरण गर्नका लागि ठोस र दीर्घकालीन योजना लागू गर्नुपर्ने उल्लेख गरिएको छ।
सो ध्यानाकर्षण-पत्रमा समेटिएका प्रमुख सुझावहरूमा
सवारी दुर्घटना न्यूनीकरणका लागि काँडकटको सट्टा टायर डिभाइडर जडान गर्न, ट्राफिक संकेत बोर्ड र स्ट्रिट फर्निचरको व्यवस्थापन, फुटपाथ र हाट बजारलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न, ट्राफिक व्यवस्थापन तथा सडक संरचना संरक्षण समिति गठन गर्न, ग्रामीण सडक छेउमा फलफूल तथा तरकारी खेती गरी ‘ग्रिनबेल्ट’ क्षेत्र घोषणा गर्न, महानगर कृषि प्रहरी र वडा प्रहरी टोली स्थापना गर्नुपर्ने, सडक मर्मत र खाल्डाखुल्डी समाधानका लागि तत्काल खटिने भौतिक संरचना मर्मत टिम’
गठन गर्नुपर्ने समावेश गरिएका छन्।
यस्तै नगरवासीका गुनासा र समस्या समाधानका लागि छुट्टै संयन्त्र गठन गर्नुपर्ने, पर्यटकमैत्री ट्राफिक प्रहरी टोली गठन गर्न, बेरोजगार युवाशक्तिलाई रोजगारमुखी तालिम र अवसर उपलब्ध गराउनुपर्ने लगायतका सुझावसहित उक्त ध्यानाकर्षण – पत्र मेयर आचार्यलाई बुझाएको अभियानका संयोजक बस्ताकोटीले बताए ।
सो ध्यानाकर्षण- पत्रमा महानगरले योग्यता, दक्षता र अनुभवको आधारमा महानगर–नागरिक समन्वय समिति गठन गरी प्रशासनिक कामलाई चुस्तदुरुस्त बनाउन सुझाव पनि दिइएको छ।
विषेशगरी यस अभियानले पोखरालाई स्वच्छ, हरित, सुरक्षित र समुन्नत शहरका रूपमा विकास गर्न जनता र महानगरबीच सहकार्य र साझेदारी अनिवार्य रहेको उनले स्पष्ट पारे।
त्यस्तै संयोजक बस्ताकोटीले भने,”पोखरा केवल पर्यटकीय गन्तव्य होइन, अनुशासन, सफाइ र जनसहभागिताको आदर्श शहर बन्न सक्छ। हामी नागरिकको तर्फबाट सकारात्मक सहयोगका लागि सदैव तयार छौं।”
यसैबीच मेयर आचार्यले उक्त ध्यानाकर्षण- पत्र लिँदै अभियानका सुझावहरू व्यावहारिक र उपयोगी रहेको बताए । उनले प्राप्त सुझावहरुलाई सम्भव भएसम्म कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिए ।
मूलत: पोखराको सुशासन, सरसफाइ र शहरी सौन्दर्य संरक्षणमा नागरिक को यस्तो पहलले सहकार्य र सहभागितामूलक विकासको नयाँ अभ्यास सुरु हुने संकेत दिएको छ।











