४२ वर्षको सैनिक जीवनपछि मेजर गुरुङले पत्रकारको हौसला बढाउँदै
  • प्रमुख खबर

कार्तिक २७, पोखरा ।।
नेपाल आदिवासी जनजाती महासंघ (फोनिज कास्की शाखा)को संयोजनमा “मेजर लक्ष्मी प्रसाद गुरुङ र हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारिता पुरस्कार अक्षकोष” स्थापना गरिएको छ।

पत्रकारितामा समर्पित र व्यावसायिक पत्रकारलाई हौसला दिने उद्देश्यले स्थापना गरिएको यो अक्षकोषका लागि समाजसेवी मेजर लक्ष्मी प्रसाद गुरुङले रु. १ लाख १ हजार १ सय १५ रुपैयाँ हस्तान्तरण गरेका हुन्।

बिहीबार(आज) आयोजित एक कार्यक्रममा गुरुङले उक्त रकम फोनिज कास्कीका कोषाध्यक्ष बस बहादुर शेर्पा (बसन्त), अध्यक्ष विना कुमारी थापा र उपाध्यक्ष सुशिल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै मेजर गुरुङले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएकाले सत्य, तथ्य, निष्पक्ष र उत्तरदायी पत्रकारितालाई प्रोत्साहन गर्न यो अक्षकोष स्थापना गरिएको बताए।

उनले भने, “समाज र राष्ट्रको आवाज बन्ने पत्रकारहरूलाई सम्मान र प्रेरणा दिने हाम्रो सानो प्रयास हो।”

त्यस्तै फोनिज कास्कीकी अध्यक्ष विना कुमारी थापाले उक्त अक्षकोषको व्याजबाट हरेक वर्ष गुरुङ दम्पतीको वैवाहिक वर्षगाँठका अवसरमा एक व्यावसायिक पत्रकारलाई सम्मान गरिने बताइन्।

गुरुङ सामाजिक सेवा र समुदायिक अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। उनी द गोर्खाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, गल्फ संघ कास्की र गोर्खा कम्युनिटी कास्की नेपालका संस्थापक अध्यक्ष हुन् भने युके तमु धिको प्रतिनिधि समेत रहेका छन्।

४२ वर्ष ब्रिटिस र ब्रुनाई सेनामा सेवा गरी फर्किएका गुरुङले पछिल्लो १८ वर्षदेखि गोर्खा अभियान र विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन्।

हालसम्म उनले देश–विदेशका विभिन्न संघ–संस्थालाई करिब ८२ लाख रुपैयाँ सहयोग समेत गरिसकेका छन्।

यस संस्थाका पदाधिकारीहरूका अनुसार, पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने र समाजमा सकारात्मक प्रभाव पार्ने पत्रकारहरूलाई यो पुरस्कारले दीर्घकालीन प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्